इमेज सहकारीका पीडित बचतकर्ताहरु र सरोकारवालाहरु बीच अन्तरक्रिया


रोहन जि.सी, बागलुङ

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका पीडित बचतकर्ताहरु र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

ठगीएका बचतकर्ताको रकम कसरी फिर्ता गर्न सकिन्छ भन्ने विषयमा इमेज सहकारीका पीडित बचतकर्ताहरु र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व संघिय राज्यमन्त्री चम्फादेवी खड्काले सहकारीका समस्या र यसका समाधानका लागि राज्यले अहम भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले इमेज सहकारी पीडित बचतकर्ताहरुले आफ्ना आवाज र दवाव बुलन्द गर्दा अनुशासन, धैर्यता नगुमाउन र कानुन बमोजिम अगाडि बढ्न तथा कुनै जाति, पार्टीको रुपमा नजोड्न आव्हान गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले सहकारी अभियानको तर्फबाट पीडित पक्षका लागि सहयोग र समन्वय रहेको र यसको कार्वाहीको जिम्मा अभियानलाई नहुँदा नियमनकारी निकायलाई दवाव दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बचतकर्ताहरुले सहकारी र प्रतिवादीको विषयमा परामर्श गर्नुका साथै राजनीतिक दल, जनप्रतिनिधिलाई समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
अन्तरक्रियामा जिल्लाका सांसद, जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, सहकारी अभियान्ता, सहकारी नियमनकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा इमेज सहकारीका ५०० जना पीडित बचतकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बागलुङ जिल्लाका सम्पुर्ण संघिय, प्रदेश सांसदलाई निमन्त्रणा दिएपनि पीडितका विषयबस्तुमा छलफल गर्नका लागि उपस्थित नभएको बचतकर्ताहरुको गुनासो रहेको थियो ।
कार्यक्रम इमेज बचतकर्ता संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, संघर्ष समिति गलकोट उपसमितिको संयोजक मञ्जु शर्मा चालिसेको स्वागत र सचिव याम पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले वचत फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी अनुसन्धान गर्नका लागि जाहेरी दरखास्त माग गरे अनुसार १२६० वटा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । जाहेरी अनुसार १ अर्ब १७ करोड रकम बिगो रहेको डिएसपी के.सीले बताउनुभयो ।

अनुसन्धानको क्रम १० जना प्रतिवादीको रुपमा रहेको र उक्त १० जना मध्ये २ जनालाई मात्र हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, सहकारी विभाग नयाँ बानेश्वर काठमाडौं, केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय बागलुङले इमेज सहकारीको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

इमेज सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहित इमेज सहकारीका मुख्य व्यक्तिहरु जेठ ४ गतेदेखि सम्पर्क विहिन भएपछि बचतकर्ता समस्यामा परेका छन् ।

इमेज सहकारीले बागलुङ बजारमा सञ्चालित मुख्य कार्यालयबाट रु.१ अर्ब २४ करोड, गलकोट सेवा केन्द्रबाट रु.१८ करोड र बुर्तिबाङ सेवा केन्द्रबाट रु.१२ करोड गरी बागलुङवासीको रु.१ अर्ब ५४ करोड बचत संकलन गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *