रोहन जि.सी, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले एक समारोहको बिच एसईईमा उत्तिर्ण हुने विद्यार्थीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष तथा नगर शिक्षा समितिका संयोजक ज्ञानेन्द्र गौतमले यस विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेर विद्यालयको मात्र नभएर सम्रग जिल्लाको तर्फबाट एउटा सकारात्मक उदाहरण पेश गरेको बताउनुभयो । उहाँले बिद्यार्थीको भविष्य शिक्षक र अभिवावकको हातमा रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नवराज पौडेल, विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठ, अभिभावकको तर्फबाट अर्जुन घिमिरे र नरहरि भण्डारी लगायतले विद्यार्थीको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।
एसईईमा विद्यालयको तर्फबाट सायन भण्डारी र रक्षा घिमिरेले चार जिपिए ल्याउनुभएको थियो । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलबाट कूल ७६ जना बिद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरी एसईईमा उत्तिर्ण भएका छन् । जसमध्ये ४४ जनाले ३.६ देखी ४ जिपिए, २९ जनाले ३.२ देखी ३.६ जिपिए र ३ जनाले २.८ देखी ३.२ जिपिए हासिल गरेको विद्यालयका सूचना अधिकारी तार्जन कायत मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा ४ जिपिए हासिल गर्ने सायन भण्डारी र रक्षा घिमिरेको तर्फबाट उहाँका बुबा अर्जुन घिमिरेलाई सम्मानपत्र सहित नगद रु १० हजार तथा अन्य उपस्थित एसईई उत्तिर्ण विद्यार्थी र उनीहरुका अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कंडेलको अध्यक्षता, विद्यालयका मा.वि तहका संयोजक दिपेन्द्र न्यौपानेको स्वागत तथा विद्यालय व्यवस्थापन समितिका शेयर सदस्य तथा शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
अहिले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल गुणस्तर व्यवस्थापन प्रमाणिकरणको अन्तराष्ट्रिय चिन्ह प्राप्त गरेको साविकको धौलागिरी अञ्चलकै उत्कृष्ट विद्मालयको रुपमा परिचित छ । स्कुलले आइएसओ चिन्ह ९००१ ः २०१५ प्राप्त गरेको थियो । विभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन र मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई आइएसओ प्रमाण चिन्ह प्रदान गरेको हो ।
आइएसओ चिन्ह पाएको विद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीहरुले अन्तराष्ट्रिय श्रम बजारमा रोजगारी पाउन सहज हुने विद्यालयका शिक्षक जीवन रोका क्षेत्रीले बताउनु भयो ।
चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गर्दछ ।
हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १५०९ जना विद्यार्थी र १५० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले जानकारी दिनुभयो । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।