अस्पताल भवन समयमै सक्न सरोकारवालाको जोड

आदर्श अनलाइन, म्याग्दी
बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई समयमै सक्न सरोकारवालाहरुले निर्माण कम्पनीलाई ताकेता गरेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माल गायतको टोलीले भवन निर्माण कार्यको निरिक्षण गर्दै निर्माण कम्पनिलाई चाँडे सक्न ताकेता गर्नुभएको हो ।

मन्त्री जुग्जालीले निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीलाई सम्पर्क गरेर जनशक्ति थप गर्न तथा निर्माण सामग्री व्यवस्थापन गरेर जति सक्यो चाँडो काम सक्न निर्देशन दिनुभएको थियो । मन्त्री जुगजालीले जनशक्ति अभाव हुँदा सेवा नै ठप्प गर्नु पर्ने सम्मको अवस्था हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनशक्ति व्यवस्थापन गरेर बेनी अस्पतालमा बिरामीको उपचार सेवा प्रभावित हुन नदिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव शर्मालाई निर्देशन दिनुभएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीलेका अनुसार २०७७ देखि रोकिएको निर्माण चैत देखि सुरु भएपनि अपेक्षाकृत प्रगति भएको छैन् । नयाँ बनाउन पुरानो भवन भत्काइएकाले छ वर्षयता अस्पतालले अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका ईञ्जिनियर पंकज सिंहले बताउनुभयो । २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको हो ।

रोकिएको भुक्तानी पाए काम गर्न, निर्माण सामग्री जुटाउन र मजदुरलाई ज्याला दिन सजिलो हुने थियो । मन्त्री जुग्जाली र सांसद भण्डारीले गत फागुनमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सचिवालय मार्फत मन्त्रालयका सचिव, विभागका महानिर्देशक र साझेदार महादेव खिम्तीका सञ्चालक समेत रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई फोन मार्फत ताकेता गराउनुभएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिनुभएको थियो । सार्वजनिक खरिद ऐनको पछिल्लो संसोधन र कोरोनाका कारण देखाएर चौथो पटक म्याद थप गर्ने तयारी भएको छ ।

नयाँ भवन निर्माण नहुँदा पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा अञ्जु थापाले भन्नुभयो । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्य कार्यालयको भवनमा स्थापना भएको छ । १५ शैया क्षमत्ताको म्याग्दी जिल्ला अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *