जिल्लामै पहिलो पटक बेनी नगरपालिकाले खुलायो जग्गाको कित्ताकाट


अमृत बास्कुने, म्याग्दी

लामो समय देखि जग्गाको कित्ताकाट रोकिएकोमा म्याग्दीको बेनी नगरपालिकाले खुलाएको छ । म्याग्दी सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेकोले सोमबारदेखि जग्गाको कित्ताकाट खुलाएको जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले एक सूचना जारी गर्दै बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण सकिएकोले कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभएको छ । भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम बेनी नगरपालिकाको जग्गाहरुलाई दश वटा क्षेत्रमा वर्गीकरण गरेको छ ।

नगर कार्यपालिकाको २०८० असार ८ गतेको निर्णय अनुसार स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेह्रौं नगरसभाबाट अनुमोदन गरेको थियो । नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।

गत वर्ष २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट २०८० को साउन १ गते बाटै खुलेको छ । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा समेत रोकिएको थियो । जग्गाको कित्ताकाट हुन नसक्दा राज्यले राजश्व संकलन गर्ने मुख्य मध्येको एक मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा समेत गिरावट आएको छ ।

कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो । जग्गाको कित्ताकाट खुलाउने बेनी नगरपालिका म्याग्दी जिल्लामा पहिलो हो । त्यस्तै सदरमुकाम बेनी सँगै सिमाना जोडिएको पर्वत जिल्लाको जलजला गाउँपालिकाले पनि साउन १ गतेबाटै जग्गाको कित्ताकाट खुलाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *