झण्डै दुई दशक पछि बन्यो बस टर्मिनल


आदर्श अनलाइन, म्याग्दी

२०६४ सालमा कालिगण्डकी नदिमाथी मोटरेबल पुल निर्माण भए पछि सञ्चालन भएको बसपार्कमा १६ वर्षपछि टर्मिनल भवनको बुधवार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा भवनको उद्घाटन गरिएको हो ।

कालिपुल बसपार्कमा टर्मिनल भवन बनाउनका लागि २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । टर्मिनल भवनबाट म्याग्दीबाट विभिन्न ठाउँका लागि छुट्ने यातायातको टिकट काउण्टहरु सञ्चालन गरिएको छ ।

२०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कमा निर्माण भएको भवनमा टिकट काउन्टरका साथै शौचालय र यात्रु प्रतीक्षालय समेत व्यवस्था गरिएको छ । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री तबरले निर्माण गरिएको भवनमा सिसीक्यामेरा समेत जडान गरिएको छ ।
भवनको उद्घाटन गर्दै प्रमुख केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा सजिलो तबरले सुविधा पाउने बताउनुभयो ।

नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो । अनुसार, बसपार्कलाई सफा र व्यवस्थित गराउनका लागि ७ जना कर्मचारीहर नियुक्त गरिएको र व्यवसायिहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरि अघि बढीएको बताउनुभयो । टर्मिनल भवनको आम्दानी नगरपालिकामा जान्छ, बसपार्क व्यवस्थापनको लागि सहयोगबाट जुटाउने रकमको खर्च सम्बन्धमा विद्यान र आर्थिक कार्यविधि बनाएर नगरपालिकामा पेश गरेका छौँ, नगरपालिकाले लिने निर्णयको आधारमा अघि बढ्छौँ उहाँले भन्नुभयो । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बालमन्दीर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन गर्ने मोडल तयार गरिएको छ ।

बसपार्क चिटिक्क परेसंगै धुलो, हिलो र अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । विसं २०७४ मा नगरपालिकाले१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निजि क्षेत्रले संचालन गरेको यातायात ब्यवसायलाई प्रतिस्पर्धाभन्दा पनि सेवासुविधा सुधारमा ध्यान दिन आग्रह गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बसपार्क क्षेत्रलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि सरसफाईमा विशेष ध्यान दिन समिति र यातायात ब्यवसायीलाई आग्रह गर्नुभएको थियो ।

यातायात ब्यवसायीको तर्फबाट बोल्नुभएको लालबहादुर थापाले टर्मिनल भवन बाहेक अन्य क्षेत्रबाट टिकट काउण्टर संचालन गर्न नदिन ब्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले महोत्सवबाट भएको आम्दानी मध्ये ३५ हजार रुपैयाँ बसपार्क ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । नगर उपप्रमुख ज्योती लामिछाने र प्रहरी नायव उपरिक्षक मदन कुँवरलगायतको उपस्थित रहेको कार्यक्रमको संचालन वडासदस्य यामबहादुर बानियाँले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *