सामुदायिक वनलाई उत्कृष्ट पुरस्कार


आदर्श अनलाइन, म्याग्दी

जिल्ला भित्र रहेका तीन सय १४ सामुदायिक वन मध्ये उत्कृट कार्य गर्ने तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई डिभिजन वन कार्यालय म्याग्दीले पुरस्कृत गरेको छ ।

मंगलबार डिभिजन कार्यालय म्याग्दीले आयोजना गरेको पुरस्कार वितरण एवम् सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना उत्कृष्ट कार्य गर्ने तीन वटा सामुदायिक वन, एक जना कर्मचारी र एक जना पत्रकारलाई पुरस्कार तथा सम्मान गरीएको थियो ।

कार्यालयले रघुगंगा गाउँपालिका–८ को कृष्ण तालाबन्दी सामुदायिक वनलाई पहिलो, अन्नपूर्ण गाउँपालिका–७ को औल सामुदायिक वनलाई दोश्रो र धवलागिरी गाउँपालिका–३ को छेरपातल सामुदायिक वनलाई तेश्रो पुरस्कार प्रदान गरीएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । प्रथम, द्वितीय र तृतीय हुने सामुदायिक वनलाई दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित दोषल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यालयले उत्कृष्ट कार्य गर्ने कर्मचारी तर्फ सव डिभिजन कार्यालय दरवाङका फरेष्टर दिपकबहादुर शेरचन उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो । पत्रकारिताको माध्यमबाट वन तथा वातावरण क्षेत्रको प्रचारप्रसारमा उत्कृष्ट योगदान गर्नुहुने म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष एवम् कान्तिपुर मिडियामा कार्यरत पत्रकार खड्कालाई दोसल्ला र प्रंशसापत्र प्रदानगरी सम्मान गरीएको थियो ।

वन कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका म्याग्दीमा प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, वन अधिकृत रानाभाटले पुरस्कार तथा सम्मान वितरण गर्नुभएको थियो ।

कार्यालयले गत आर्थिक वर्षको प्रगति विवरण समेत कार्यक्रममा सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७९÷०८० मा वन्यजन्तुको आक्रमणबाट नागरिकले पालेका २८ वटा पशुधनको क्षति भएको थियो । क्षती ब्यहोरेका पशुका मालिकहरुलाई तीन लाख सात हजार रुपैया उपलब्ध गराइएको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले सामुदायिक वनको अतिक्रमण बढेकोले त्यसलाई रोकथाम गर्नु पर्ने बताउनुभयो । उहाँले सार्वजनिक सम्पत्तीको अतिक्रमणलाई निरुत्साहीत गर्नका लागि सबै जिम्मेवार बन्नु पर्ने धारणा राख्नु भयो । वनलाई घाँस र दाउरामा मात्र सिमित भन्दापनि वनलाई पर्यापर्यटनको रुपमा विकास गरेर आम्दानीतर्फ अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले सामुदायिक वनको संरक्षणले वातावरणको संरक्षणमा टेवा पु¥याउने बताउदै समुदायको आम्दानीमा बृद्धि हुने किसमिले काम गर्न जोड दिनुभएको थियो । गत वर्ष प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा सम्मानित भएको वन कार्यालयले आफ्नो उत्कृष्टतालाई बचाइ राख्ने चुनौती पनि रहेको उहाँको भनाई थियो ।

कुनै समय २६ किलो सम्म यार्सगुम्बा संकलन भएको म्याग्दीमा गत आर्थिक वर्ष आधा केजीका लागि मात्र पुर्जी लिएको कार्यालय प्रमुख रानाभाटले बताउनुभयो । उक्त आर्थिक वर्षमा जडिबुटी संकलन वापत एक लाख चारहजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा एक लाख ५९ हजार राजश्व संकलन भएकोमा उक्त रकम घटेर एक लाख चार हजार भएको प्रमुख रानाभाटले बताउनुभयो ।

वन कार्यालयका शाखा अधिकृत नरवहादुर क्षेत्रीको सञ्चालन भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दी, नागरिक समाजका प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *