टर्च लाईट बालेर सहकारी पीडितद्वारा प्रर्दशन


सुजन रेग्मी, बागलुङ

इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले आईतबार साँझ टर्च लाइट बालेर विरोध प्रदर्शन गरेका छन् ।

डेढ अर्ब भन्दा बढी रकम हिनामिना गरेर फरार भएका सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपाली सहित सहकारीका संचालहरुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिन पीडित बचतकर्ताहरुले सांकेतिक विरोध स्वरुप टर्च लाइट बालेर प्रदर्शन गरेका हुन् ।

पीडित बचतकर्ताहरुको इमेज बचतकर्ता संघर्ष समितिले बागलुङ बजारमा रहेको सहकारीको भवनदेखि शुर गरेको ¥याली बजार परिकर्मा गरेर टर्च लाइट बालेर खोजी गर्दै नाराबाजी गरेका थिए ।

संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बचत रकम हिनामिना गरेर फरार भएका नेपाली सहितका संचालक समितिहरुलाई प्रशासनले पक्राउ गर्न ढिला गरेकोले दबाब स्वरुप टर्च लाइट बालेर प्रदर्शन गरेको बताउनुभयो । उहाँले प्रहरी प्रशासनले खोजी गरिरहेपनि ढिलासुस्ती गरेको बताउनुभयो ।

संघर्ष समितिका संयोजक कार्कीले देशभरका सहकारी र लघुवित्तका पीडितहरुले साउन १८ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउँदै सवैलाई काठमाडौंमा जानको लागि आव्हान गर्नुभएको थियो । इमेज सहकारीका पीडित बचतकर्ताहरुले आईतबार साँझ एकै साथ बागलुङ बजार, गलकोटको हटिया बजार र ढोरपाटनको बुर्तिबाङ बजारमा टर्च लाइट बालेर विरोध प्रदर्शन गरेका थिए ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेको नेपाली गतजेठ ५ गतेदेखि फरार रहेका छन् । नेपाली सहित सहकारीका संचालकका विरुद्धमा प्रहरीमा १ हजार ४ सय ८१ जना बचतकर्ताले मुद्वा दर्ता गरेका छन् ।

नेपाली सहित सहकारीका संचालक र कर्मचारी गरी ११ जना विरुद्ध बचतकर्ताले जिल्ला अदालत बागलुङमा रु. १ अर्ब ३० करोड विगो दाबी गरी ठगी मुद्वा दर्ता गरेका छन् । प्रहरीले सहकारीको लाखौं रकम हिनामिना गरी ठगी गरेको आरोपमा सहकारीका संचालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पक्राउ गरिसहेको छ । पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न साउन ४ गते आदेश दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *