आदर्श अनलाइन, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।
बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तदार शिवहरी सुवेदीले जानकारी दिनुभयो ।
कुँवरको होटलमा खाजा खान जानुभएको वरिष्ठ प्रहरी नायव निरीक्षक पौडेल गत साउन ८ गते राती होटलमै मृत फेला पुर्नुभएको थियो । होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारमिभक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एण्ड खाजा घरमा गएका जानुभएको र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोरा मिलेर हत्या भएको प्रहरीले जनाएको छ ।
विवादका क्रममा आमा–छोरा मिलेर पौडेललाई गम्भिर तरिकाले कुटपिट गरेको र सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको थियो ।
पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेर लुकाएको अनुस्न्धाबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको किचनमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।