राष्ट्रिय पूँजी निर्माणको प्रमुख आधार सहकारी हो : ओली

आदर्श अनलाइन, ललितपुर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजीलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले सहकारी तथा गरिवी निवारण विभागले आइतवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय पूँजिको विकास गर्नका लागि सहकारी सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो ।
यतिबेला मुलुकमा दलाल पूँजिको बोलवाला रहेको छ । दलाल पूँजिले स्वदेशी बजारलाई कमजोर बनाउने भएकाले सहकारीलाई व्यवस्थित गरी यसमार्फत राष्ट्रिय पूँजिलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिनुभयो ।

वर्तमान सरकार राष्ट्रिय राजनीति, पूँजी लगायत राष्ट्रियता जगेर्ना गर्ने खालका नीतिप्रति अनुदार रहेको आरोप ओलीले लगाउनुभयो । वर्तमान सरकार राष्ट्रिय उद्योगपतिलाई छानी छानी कार्वाही गर्छ, दलालहरुलाई खोजी खोजी व्यवस्थापन गर्छ, ओलीको टिप्पणी थियो ।

जसलाई चाहिएकै थिएन, चाहिएकै होइन, तिनले सहकारी खोलेका कारण समस्या आयो, जसलाई चाहिएको होइन, उसले सहकारी राम्ररी चलाउने कुरा भएन, ओलीले भन्नुभयो, आवश्यकताका आधारमा, सदस्यहरुको चाहनाका आधारमा बनेका, चलेका र काम गर्दै आएका सहकारीहरुमा समस्या छैन । जसले सहकारीलाई उपयोग गरे, तिनका कारण समग्र सहकारीमा समस्या देखिएको छ ।

सहकारीलाई व्यवस्थित गर्नका लागि नीति प्रभावकारी बनाउनु पर्छ, कांग्रेस नीति विधिमा विश्वास गर्दैन, माओवादीको नीति बेग्लैछ, उसलाई नीतिसंग कुनै सरोकार नै छैन, उसले फाइदा खोज्छ, दैनिक क्वीण्टल क्वीण्टल सुन आउने काम छोडेर गाउँका किसानलाई संगठित गर्नु पर्ने सहकारी उसको प्राथमिकता होइन ।

सहकारीमार्फत कृषि लगायत उत्पादनका क्षेत्रको विकास गर्न सकिने, स्वरोजगारी र रोजगारी सिर्जना गर्न सकिने, सानो सानो पूँजिलाई एकत्रित गरी जनतालाई आयआर्जनमा लगाउन सकिने क्षेत्रका रुपमा सहकारीलाई प्राथमिकता दिइएको चर्चा गर्दै ओलीले सहकारीको महत्व भएरै संविधानमै अर्थतन्त्रको ३ मध्ये एउटा खम्बा मानिएको बताउनुभयो ।

विगतमा परिवार उत्पादनको इकाई थियो, सम्पत्ती आर्जनको माध्यम परिवार थियो, परिवारका सदस्यहरु मिलेर विभिन्न खालका जिम्मेवारी लिएर सम्पत्ती आर्जन गर्ने अवस्था थियो, त्यो अब विगत भइसक्यो, परिवारको सम्पत्ती आर्जनको माध्यम अब वैदेशिक रोजगारी हुन थाल्यो, अब परिवारको इकाईबाट कृषि क्षेत्रको विकास संभव छैन, त्यसैले सहकारीलाई यसतर्फ अग्रसर गराउनु पर्छ, अव ठुला ठुला फार्महरु सञ्चालन गरी कृषि र पशुपालन व्यवसायलाई अगाडि बढाउने आधार भनेकै सहकारी हो र मुलुकको विकासको मुख्य आधार कृषि नै हो । यसलाई व्यवस्थित गराउन सबैले ध्यान दिनु पर्नेमा ओलीको जोड थियो ।

No description available.

शुरुमा उत्पादक, विचमा व्यवसायी र अन्तिममा उपभोक्ता हुने वर्तमान बजार प्रणालीलाई खारेज गरी उत्पादकबाट सिधै उपभोक्तामा पुराउने अवस्था सिर्जना गर्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले एमालेले सहकारीको सवलताका लागि गरेको प्रयासहरु, सैद्धान्तिक तथा नीतिगत रुपमा गरेका व्यवस्थाहरु, सहकारीलाई सबल बनाउन खेल्नु पर्ने भूमिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल र सहकारी तथा गरिवी निवारण विभागका सदस्यत तथा सूर्योदय नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले सहकारीलाई व्यवस्थित गरेर आर्थिक विकासमा प्रभावकारी भूमिका खेल्नका लागि सबै राजनीतिक दलहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो ।

सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीको अध्यक्षता, सचिव केबी उप्रेतीको सञ्चालन र सदस्य परितोष पौड्यालको स्वागतमा सम्पन्न कार्यक्रममा देशभरका विभिन्न जिल्लाबाट एमाले समर्थक अगुवा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *