आदर्श अनलाइन, बागलुङ
बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकहरुको जीवनस्तर सुधार परियोजनाको सुभारम्भ भएको छ । सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले नेपालको विकासमा एनजिओ र आइएनजिओको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
जनताको जीवनस्तर उकास्नका लागि धेरै एनजिओ र आइएनजिओहरुले दूर दराजसम्म पुगेर विभिन्न कार्यक्रम संचालन गरेको भन्दै अहिले सुभारम्भ भएको कार्यक्रमले किसानलाई ठूलो टेवा पु¥याउने बताउनुभयो । अहिलेसम्म धेरै किसान परम्परागत शैलीमा पशुपालन गर्दै आएको र आम्दानी भने सोचे अनुसार गर्न नसकेको उहाँको भनाइ छ । किसानका लागि प्रदान गरिने अनुदान वास्तविक कृषक हो, होइन यकिन गरेर मात्रै वितरण गर्नु पर्नेमा जोड दिनुययो ।
यो कार्यक्रमलाई न्यून वर्गका किसानलाई जोड्नु पर्नेमा थापाको जोड छ । वर्तमान अवस्थामा किसानका थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई तीनै तहका सरकारले समाधान गर्नु पर्ने प्रमुख थापाको भनाइ छ । जो टाठोबाठो छ, उहीले जताततैबाट अनुदान पाउन र वास्तविक किसानले सेवा सुविधा नपाएको गुनासोहरु बढेको उहाँको भनाइ छ ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले सुरुवात गरेको बताउनुभयो । आधुनिक उपकरण र उन्नत जातका बिउ भिजन वितरण गर्ने र किसानलाई तालिम तथा परामर्श दिइ राखेको अध्यक्ष थापाको भनाइ छ । चालु आर्थिक वर्षमा पनि काठेखोलाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा प्राटिकल एक्सन नेपालको बारेमा संयोजक दिपेन्द्रराज शर्माले जानकारी गराउनु भयो । परियोजना संचालन रणनीति, प्राथमिकताका क्षेत्र तथा अनुदान प्रक्रियाका बारेमा उर्जा प्रमुख मिन विक्रम मल्लले जानकारी गराउनु भयो । दुग्ध व्यवसायमा हालको उर्जा खपतको अवस्थाका बारेमा प्रोजेक्ट म्यानेजर चन्द्रबहादुर कार्कीले प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकाेटा, भेटेनरी अस्पताल बागलुङका प्रमुख डा. ऋषिराम सापकाेटा, दुग्ध उत्पादक सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतम लगायतले मन्तव्य राखेका थिए । उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकहरुको जीवनस्तर सुधार परियोजना धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सनको सहकार्यक्रमा संचालन हुन लागेको हो ।
कार्यक्रम धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङका अध्यक्ष सिर्जना थापाको अध्यक्षता, सदस्य कल्पना श्रेष्ठको स्वागत र कृषकहरुको जीवनस्तर सुधार परियोजनाका संयोजक नवराज दाहालको संचालनमा सम्पन्न भएको थियो ।