कानुन संशोधन गरेरै भए पनि इमेज पीडितको पैसा फिर्ता गराउन लाग्छौ : मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका पीडितहरुले संस्थालाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् । इमेज पीडितहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसंग इमेज सहकारीलाई समस्याग्रस्त घोषणा गरी पीडितहरुको बचत रकम फिर्ता गराउन माग गरेका हुन् ।

इमेज सहकारी बचतकर्ता संघर्ष समिति पोखरा, बागलुङ, गलकोट र बुर्तिबाङका तर्फबाट बिहीवार संयुक्त रुपमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउदै इमेज सहकारीका मुख्य व्यक्ति देव कुमार नेपाली लगायत वेपत्ता व्यक्तिहरुको खोजी गरी पक्राउ गर्न तथा उनीहरुमार्फत पीडितहरुको रकम फिर्ता गराउन माग गरिएको छ ।

इमेज सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरु र उनीहरुका परिवारको अवस्था दिन प्रतिदिन कमजोर हुदै गएको, मानसिक रुपमा समेत समस्या पर्न थालेको छ, पीडितहरुलाई न्याय दिनका लागि राज्यका तर्फबाट प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिदै संघर्ष समितिले संस्थालाई समस्याग्रस्त घोषणा गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री पाण्डेसंग माग गरेको छ ।

पीडितहरुको पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले कानुनी व्यवस्था वाधक भए संशोधन गरेर भए पनि सहकारीका पीडितहरुलाई न्याय दिने गरी योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । सहकारीबाट पीडित बनेकाहरुलाई न्याय दिनका लागि कानुनी प्रक्रियामा समस्या भए संशोधन गरेर भएपनि न्याय दिन्छौ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘सहकारीमा बचत गरेकाहरुको रकम सुरक्षित गर्न तथा सहकारीले सदस्यहरुलाई लगानी गरेको ऋण असुलीका लागि प्रभावकारी कानुनी व्यवस्था गराउन पहल गर्छौ ।’

सहकारी समेत हेर्ने भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, प्रदेशसभाका उपसभामुख बिना कुमारी थापा, प्रदेशसभा सदस्यहरु गोविन्द बहादुर नेपाली, कुसुम बुढा, कृष्ण पाठक र डिल्लीराम सुवेदी लगायतको उपस्थितिमा इमेज सहकारी बचतकर्ता संघर्ष समितिका तर्फबाट ध्यानाकर्षण गराइएको थियो ।

इमेज सहकारी बचतकर्ता संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्की, पोखराका हरि बहादुर खत्री, गलकोटका मञ्जु शर्मा चालिसे र बुर्तिबाङका याम बहादुर कुँवरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बागलुङका संयोजक डिल बहादुर कार्कीले मुख्यमन्त्री पाण्डेलाई बुझाउनु भएको थियो ।

गत बैशाख ७ गते सूचना प्रकाशित गरी कार्यालय बन्द गरेको इमेज सहकारी संस्थाले जिल्ला सहकारी संघ बागलुङ लगायत अभियान र सरकारी निकायसंगको समन्वयमा बैशाख १२ गतेदेखि दैनिक ५ हजार रुपैया बचत फिर्ता गर्ने सहमतिमा कार्यालय सञ्चालन गरेको थियो ।

गत जेठ १ गते बागलुङ बजारमा र त्यस लगत्तै गलकोट तथा पोखरामा बचतकर्ताहरुको भेला गरेर ६ महिना भित्रमा बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता सहित अनुमति मागेका संस्थापक अध्यक्ष देव कुमार नेपाली जेठ ५ गते शुक्रवारदेखि सम्पर्क विहिन भएका छन् ।

बचतकर्ताहरुले ६ महिनाको समय दिएपछि एक्कासी वेपत्ता भएका नेपाली सहित सञ्चालक समिति र कर्मचारीहरुलाई कार्वाहीको माग गर्दै अदालतमा उजुरी दर्ता गराएका छन् । प्रहरीले संस्थाका २ जना सञ्चालक र एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली संस्थापक अध्यक्ष रहेको इमेज सहकारीले पोखरा र बागलुङमा गरी करिव २ अर्ब रकम फिर्ता गरेको छैन । सहकारीमा जम्मा भएको रकम देव कुमार नेपालीले आफ्नो निजी सम्पत्ती जोड्न प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ । नेपालीले बुर्तिबाङ बजार, बागलुङ बजार, पोखरा, काठमाडौं लगायत देशका विभिन्न स्थानमा घर घडेरी खरिद गरेको पाइएको छ ।

ब्याज बढी दिने लगायत विभिन्न प्रलोभन देखाएर संकलन गरेको बचत रकमले निजी सम्पत्ती जोड्ने देव कुमार नेपाली जस्ताहरुका कारण समग्र सहकारी अभियान समेत समस्यामा परेको भन्दै पीडितहरुले देव कुमार नेपालीको खोजी गरी कार्वाही गर्न र बचत फिर्ता गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *