लखन सहकारीको १६ औं साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
लखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १६ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले सहकारी अर्थतन्त्रको मुख्य खम्बा भएको बताए । ‘सहकारी देशको अर्थतन्त्रको मुख्य खम्बा हो,’ उनले भने,‘सहकारी क्षेत्रले प्रगति गर्दा नेपालको आर्थिक प्रगतिमा पनि टेवा पुग्छ । सहकारी संस्थाले नियम कानुन अनुसार काम गर्नुपर्छ ।’ राज्यका निकालय सहकारीको नियमनमा ध्यान नदिँदा कतिपय सहकारीका कारण सिंगो सहकारी क्षेत्र नै बदनाम भएको उनको भनाई थियो ।

‘हिजोका दिनमा राज्यका निकायहरुको कमजोरीमा खेलेर केही सहकारी संस्थाहरुले गरेको बेइमानीले गर्दा समग्र सहकारीलाई नै अप्ठ्यारो पारेको छ,’ उनले भने,‘सहकारी क्षेत्रको समस्यालाई निराकरण गर्दै अगाडि बढ्नुपर्छ ।’ उनले सहकारीले सेयर सदस्यको आय आर्जन र आर्थिक उपार्जनमा सघाउनुपर्ने बताए । ‘सहकारीले केवल बचत र ऋणको कारोबार मात्र नगरी सदस्यको आर्थिक आय आर्जनमा पनि ध्यान दिनुपर्छ,’ उनले भने,‘सदस्यलाई उद्यमी बन्नका लागि प्रेरित गर्नुपर्छ ।’ सेयर सदस्यलाई उत्पादनमा जोड्ने र उत्पादित वस्तुलाई बजारीकरण गर्नका लागि सहकारीले सघाउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा संविधान सभा सदस्य नरबहादुर थापा, बागलुङ नगरपालिका सहकारी विभागका अधिकृत प्रेमप्रसाद शर्मा, काठेखोला गाउँपालिका—१ का वडाध्यक्ष खडकबहादुर थापा, बुद्ध दर्शनका स्कलर टिबी थापा, जिल्ला सहकारी संघ बागलुङका सचिव तेजप्रसाद शर्मा, काठेखोला—४ तंग्रामका पूर्व वडाध्यक्ष केशरबहादुर थापा केशव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका सचिव डम्मर बुढामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा एसइइमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीमध्ये युजिना काउचा र चन्द्रबहादुर थापालाई सम्मान गरिएको छ ।

कार्यक्रममा ७० वर्ष माथिका ज्येष्ठ सेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई समेत सम्मान गरिएको छ । लखन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष क्याप्टेन खडकबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव श्यामबहादुर पुन र सञ्चालन सचिव तेजेन्द्र थापाले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष रेशम थापामगरले आर्थिक प्रतिवेदन र सचिव तेजेन्द्र थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरे । संस्थाले गत आर्थिक वर्षमा एक अर्ब ६१ करोड ३४ लाख ५५ हजार दुई सय २१ रुपैयाँको कुल कारोबार गरेको छ ।

उक्त कारोबारबाट कुल दुई करोड ५६ लाख ९४ हजार तीन सय ३० रुपैयाँ आम्दानी गरेको छ । बहुद्देश्यीय उक्त सहकारीले बचत ऋण कारोबारको अलावा लख एग्रो र लखन मार्ट सञ्चालनमा ल्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *