आदर्श अनलाइन, म्याग्दी
इजरायलम हमासको आक्रमणमा परि १० नेपालीको मृत्यु हुँदा त्यस्तै घटनामा जोगिनु भएका म्याग्दीका मसबीर रोका आफू पनि त्रसित बनेको अनुभव सुनाउनुहुन्छ ।
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा वैदेशिक रोजगारीको शिलशिलामा २०६० मा इराक जानका लागि प्रस्थान गरेको भए पनि २०६१ भदौमा मात्रै इराक पुग्नु भएको थियो । नेपालबाट भारत हुँदै जोर्डन पुगेर जोर्डनबाट गाडी मार्फत इराक पुग्ने क्रममा गएका ६४ जना मध्ये १२ जनाको हत्या भएको घटनाले सँधै तर्साउने उहाँको अनुभव छ ।
उहाँ भन्नु हुन्छ–‘म ३५ वर्षको हुँदा २०६० मा घरबाट हिडेको थिएँ, ४ महिना भारत बसियो, ६ महिना जोर्डन र त्यस पछि इराकको बगदादमा गएर १ हप्ता बसे पछि बि वान भन्ने कम्पनिमा काममा लागेको थिएँ ।’ उहाँले सुनाउनुभयो त्यही ग्रुपमा गएको दुई वटा गाडीमा रहेका १२ जना नेपालीहरुलाई आतंककारीले हत्या गरेका थिए ।
बेनी नगरपालिका–१० का वडा अध्यक्ष रोका इराकमा दुई हजार डलर आम्दानी हुने लोभमा भारतमा चार महिना र जोर्डनमा छ महिना बस्दै झण्डै एक वर्षमा इराक पुग्नु भएको थियो । तर इराक पुगेपछि तीन सय डलरमा काम गर्नु परेको उहाँको भनाई छ । बेनी नगरपालिका–१० कै कुमार राम्जाली र रघुगंगा गाउँपालिका–५ झिँ का अर्का एक गरी म्याग्दीका ३ जना इराक पुग्नु भएको थियो । जोर्डनबाट इराक जाने क्रममा लमजुङका तीन जना र म्याग्दीका तीन जना एउटा गाडीमा चढेको उहाँ सुनाउनु हुन्छ । हामी संगै गएका अन्य मध्ये कुन चाँही २ वटा गाडी चालकले गलत नियतले लगेर आतंककारीलाई जिम्मा लगाए जस्तो लाग्छ–उहाँ सम्झनु हुन्छ ।
नेपालीहरु अहिले पनि दलालहरुको माध्यमबाट बैदेशिक रोजगारीमा जाँदा भारत हुँदै कयौं दिन लगाएर जाने हुँदा उनीहरु नै समस्यामा पर्ने गरेको रोकाको अनुभव छ ।
उहाँ थप्नु हुन्छ–‘म एक वर्ष लगाएर इराक पुगेपछि पाँच वर्ष बसेर फर्किएँ तर म जस्तै भारत हुँदै कयौं समय लगाएर बिदेश जानेहरु निकै जोखिममा छन् ।’ हामी इराक पुगेपछि एउटा होटलको भुइमै सुतेका थियौं भने पानी पनि ट्वाइलेटमा प्रयोग गर्ने पिएर पनि बाँच्ने प्रयास गरेका थियौं । १२ जना साथीहरु त आतंककारीले हत्या गरिदियो तर हामी भने भाग्यले बाँच्यौं । कतिपय नेपालीहरु विदेश गएर मृत्यु भएको हो वा जिवित छन् भन्ने सम्म पनि थाहै नभएको अवस्था पनि रहने गरेको उहाँले सुनाउनुभयो ।