टन्न धन कमाएर घर फर्किने आशमा मुखिया

अमृत बास्कुने, म्याग्दी
परदेशिएका कैयन नेपाली दसैँ मान्न घरदेश फर्कन्छन् । तर, पछिल्लो समय दसैँ, तिहार, तीज, छठ जस्ता नेपालीले व्यग्र प्रतिक्षा गर्ने चाडपर्वकै दिन पनि व्यवस्था, बाध्यता र परिबन्धले विदेशिएका नेपालीका दुःख र व्यथाका कथा थुप्रै छन् ।

धन कमाउने र आफ्नो अवस्था सुर्धाने सपना बोकेर मदेश प्रदेशको बारा जिल्लाका ईश्वर मुखिया बडादसैँको घटस्थापनाको दिन स्वदेशमै परदेशीनु भयो । टन्न धन कमाएर घर फर्किने सपना बोकेर म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर आइपुगेका ३८ वर्षीया ईश्वर मुखियासँग अन्य दुई जना साथिहरु पनि हुनुहुन्छ ।

पृष्ठभूमिमा धौलागिरी हिमालको रोमाञ्चक दृष्य संगै काम गरी रहेका इश्वर मुखियालाई त्यो हिमाल के हो भनेर सोध्दा उत्तर दिनुभयो– सगरमाथा हो ८८४८ मिटर अग्लो । कक्षा ८ सम्म पढेका इश्वर मुखियाले आफूले अध्ययन गर्दा पढेको सगरमाथा हिमाल यही हो भन्नुभयो ।

सगरमाथा त सोलुखुम्बुमा पर्छ, यो धौलागिरी हो यसको उचाइ पनि आठ हजार मिटर भन्दा बढी नै हो भन्दा उहाँ छक्क पर्नुभयो । कालीगण्डकी वारी बागलुङ र म्याग्दी काली पारी पर्वत जिल्ला रहेको सुन्दा अचम्म मान्नुभयो । उहाँले प्रतिप्रश्न गर्नुभयो–‘यो सगरमाथा हिमाल हैन ? मैले कक्षा ८ मा पढ्दा ८८४८ मिटर अग्लो सगरमाथा पढेको थिएँ ।’

रोजगारीका लागि मुखिया म्याग्दी आएको भने यो पहिलो पटक हो । म्याग्दी आएको १५ दिन बितेका मुखियासँग यहाँका स्थानीय ठाउँ तथा व्यक्तिको बारेमा खासै ज्ञान छैन । तर, इटा उद्योगमा मजदुरीका लागि आउनुभएका उहाँसंग धेरै पैसा कमाएर घर फर्कने सपना भने मनभरी छ ।

चिसो सिरेटो चल्ने बेनी नगरपालिका–१ रत्नेचौरमा बिहानको साढे छ बजे देखिनै तीन जनाको टोली माटोको काम गर्न थाल्छन् । बारा जिल्ला घर भएका ४६ वर्षिय जवाहर मुखिया, ४० वर्षिय गोपिचन मुखिया र ३८ वर्षिय इश्वर मुखियाको दैनिकी बिहानैदेखि माटोसँग खेल्दै सुरु हुन्छ । बिहान साढे छ बजे सुरु भएको तीन जनाको काम सकिन रातको झण्डै ८ बज्छ । हरेक दिन बिहान मुछेको माटोको इटा बनाउन थालेर सुरु भएको दैनिकिले बेलुका सुकेका इटाको चाङ लगाए पछि भोली पल्ट इटा बनाउनका लागि माटो तयार गरेर राती ८ बजे बासस्थानमा पुग्नुहुन्छ ।

बारा जिल्लाको सिम्रौनागढ नगरपालिका–१ का तीन जना मुखियाहरु दसँैंको घटस्थापनाको दिन म्याग्दीको रत्नेचौर आउनु भएको थियो । जवाहर र इश्वर मुखियाका दुई छोरा दुई छोरी छन् भने गोपिचनका दुई छोरा छन् । । फागुनसम्म इटा बनाउने काम गरेपछि होली मनाउनका लागि घर जानेको–इश्वर मुखियाले भन्नुभयो । काम गर्नका लागि बिदेश जान भन्दा यही नेपाल भित्रै पनि काम गर्न सकिन्छ भनेर यता काम गर्न आएको हुँ उहाँले भन्नुभयो ।

पछिल्लो १२ वर्ष देखि रत्नेचौर क्षेत्रमा आएर इटा बनाउने काम गर्ने गरेको बताउनुहुन्छ जवाहर मुखिया । असोजमा आएर फागुनसम्म इटा बनाएर होली मनाउन घर फिर्ने गरेको उहाँको भनाई छ । बिहानै उठ्यो अनि इटा बनायो, माटो तयार गर्ने अनि सुकेका इटालाइ चाङ लगाएर नयाँ आलो इटा सुकाउने ठाउँ बनाउदैमा दिन बित्छ जवाहर भन्नुहुन्छ ।

विहानै उठ्यो अनिसंगै भएको छाप्रोमा खाना बसालेर खाना हेर्दै काम गर्दै गर्ने अनि १० बजे बिहान खाना खाने घर तिर फोन गर्ने गर्छौं । हरेक दिन बिहान १० बजे घरमा फोन गर्ने र खाना खानका लागि तोकिएको समय हो । १२ वर्ष देखि लगातार आउने गरेका जवाहरले गाउँका अरु साथीहरुलाई पनि ल्याउने गरेको सुनाउनुभयो । यस वर्ष गोपिचन पुरानै भए पनि इश्वर नयाँ आएको हो गत वर्ष आएका अरु दुई जना यस वर्ष आएनन् जवाहर सुनाउनु हुन्छ ।

एकिन्द्र महतको इटा उद्योगमा काम गर्नेले एउटा इटा तयार पारेको साढे दुई रुपियाँ पाउने गर्दछन् । माटो खनेर भिजाउने अनि इटाको आकार दिएर सुके पछि प्रतिइटा उक्त मुल्य पाउछन् । तीन जनाले मेहनत गर्दा एक दिनमा दुई हजार इटा तयार हुने गोपिचन मुखियाको भनाई छ । दिनमा पाँच हजार रुपियाँको इटा तयार हुने र त्यही पैसा तीन जनाले बाँड्ने उहाँको भनाई छ ।

बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर थापा मगरले एक सिजन काम गरेर घर फर्कीदा झण्डै एक लाख ५० हजार देखि दुई लाख रुपियाँ उनीहरुले घर पठाउने बताउनुहुन्छ । दैनिक सरदर दुई हजारको दरले छ महिना सम्म इटा तयार गर्ने र त्यहीबाटै खाने बस्ने लगायतको खर्च पनि व्यवस्थापन गर्दा पनि झण्डै डेढ देखि दुई लाख रुपियाँ घर पठाउने उहाँको अनुभव छ ।

रत्नेचौर क्षेत्रमा पहिला देखि नै इटा उत्पादन गर्ने गरिएको भए पनि अहिले पछिल्लो समय त्यो पेशामा कमि आएको छ । तर पनि रत्नेचौरमा हुने रातोमाटोको इटा राम्रो तथा बलियो हुने हुँदा माग भने बजारमा उल्लेख्य रहने थापाले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *