आदर्श सञ्चारको योजना तर्जुमा गोष्ठी सम्पन्न


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिबार त्रैमासिक तथा वार्षिक योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो तिन महिनाको समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका लागि प्रस्तावित योजना कार्यक्रम र बजेट तथा आगामी १० वर्षका लागि तयार गरिने रणनीतिक योजनाका बारेमा छलफल गरिएको थियो ।



सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, उपसमितिका सदस्य र कर्मचारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा आगामी वार्षिक साधारणसभाका लागि योजना तयार पारिएको छ ।

आगामी मंसिर ८ र ९ गते हुने १७ वार्षिक साधारणसभामा प्रस्तुत गरिने नीति, कार्यक्रम र योजना तथा बजेटका बारेमा सहभागीहरुबीच समुहगत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा सहजीकरण गर्दै संस्थाका सम्पादक राम बहादुर जिसीले सहकारीहरुमा सदस्यहरुको अपनत्व बढाउनका लागि साधारणसभालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।



वर्तमानमा देखिएको वित्तीय संकट र त्यसले सहकारी क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्दै दिगो रुपमा संस्थाका गतिविधि सञ्चालन गर्न, सदस्यहरुका बीचमा प्रभावकारी सम्वाद मार्फत नियमित वचत कारोबार गर्न तथा संस्थाले लगानी गरेको ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सञ्चालक र व्यवस्थापनले थप सक्रियताका साथ अभियान सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका छन् ।

संस्थाले हाल सम्म हासिल गरेका उपलव्धीलाई संस्थागत गर्दै वर्तमान आर्थिक संकटको व्यवस्थापन र वार्षिक साधारणसभामार्फत सदस्यहरुको सक्रियता वृद्धि गर्न आवश्यक रहेको सहभागीहरुले सुझाव दिएका छन् ।



आदर्श सञ्चारले गरेका राम्रा काम र सुधार गर्नुपर्ने कार्यहरु र शेयर सदस्यहरुलाई सक्रिय बनाउने विषयमा सहभागीहरुले बढी जोड दिनुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले २०७० सालमा निर्माण गरेको १० वर्षे रणनीतिक योजनाका विषयमा समिक्षा समेत गरिएको थियो । संस्थाले २०८१ देखि २०९० सम्म लिएको लक्ष्य पुरा गर्नका लागि आवश्यक नीति तथा कार्यक्रमहरु साधारणसभामा पेश गरि कार्यान्वयन गरिने संस्थाले जनाएको छ ।


आगामी १० वर्षमा संस्थामा ५० हजार जना शेयर सदस्य, ५० करोड शेयर पुँजि, ४ अर्ब ६० करोड वचत, ४ अर्ब १० करोड कर्जा लगानी, १० करोड कोष सहित ५ अर्ब २५ करोड कुल कारोबार गर्ने लक्ष्यका साथ योजना निर्माण गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु रुद्र बहादुर महत र सुरेश प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीका सदस्यहरुले आफ्नो संस्थाको अवस्था पहिचान गरी संस्थालाई अगाडि बढाउन सहयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो ।



संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।



कार्यक्रम संस्थाका अध्यक्ष हुमारी कुमारी जिसी (अञ्जु)को अध्यक्षता, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठको स्वगत र सञ्चालक एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक अम्बिका जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *