थापाको उपचारका लागि बानपाद्धारा २ लाख १३ हजार सहयोग

आदर्श अनलाइन, बागलुङ
मेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि उपचारमा रहेका बागलुङ नगरपालिकाका पुर्व जनप्रतिनिधि गणेश बहादुर थापाको उपचारका लागि बागलुङ नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगद २ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

बागलुङ नगरपालिका-९ तित्याङका पूर्व वडा अध्यक्षसमेत रहेका थापाको उपचारका नगरपालिकामा संकलन भएको रकम गणेश थापा उपचार सहयोग समितिका संयोजक चन्द्रबहादुर थापालाई प्रदान गरिएको छ । सहयोग हस्तान्तरण गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले थापाको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।

उनले सानो सानो सहयोग पनि उपचारमा ठुलो राहत पुग्ने हुँदा यो सहयोग अभियानमा जुट्ने सवै कर्मचारी नगरपालिकाका जनप्रतिनिधि लगायतलाई धन्यबाद प्रकट गरेका छन । उनले बागलुङ नगरपालिकाले जटिल प्रकारका रोग लागेका हरेक व्यक्तिलाई सहयोग गर्दै आएको बताए ।

थापाका लागि बागलुङ नगरपालिका कार्यालयको ५० हजार रुपैयाँ, नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुबाट १ लाख ९ हजार २ सय रुपैयाँ र अन्य बाँकी रकम नगरपालिकामा कार्यरत अन्य शाखामा कार्यरत कर्मचारी र जनप्रतिनिधिबाट संकलन भएको स्वास्थ्य शाखाका सिनियर अहेब विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

नगरपालिकामा पुर्व सामाजिक विकास समितिका संयोजक समेत रहेका थापा हाल नेकपा एमाले बागलुङका उपसचिव तथा विभिन्न सामाजिक संस्थामा क्रियाशिल छन । एक वर्षदेखि स्वास्थ्यमा समस्या आइ उपचाररत थापाको ४ महिना अघिमात्रै काठमाण्डौ स्थित न्यूरो अस्पतालमा स्पाइनल कर्डमा र २ वटा रिब्समा भएको ट्युमरको शल्यक्रिया सम्पन्न भएको थियो । थापाको हाल भारतको चेन्नै स्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचार भै रहेको छ ।

थापाको स्वास्थ्यमा सुधार भएको जनाईएको छ । उनको उपचारका लागि नेपाली एक करोड खर्च लाग्ने भएकाले आफ्नो क्षमताले नभ्याएका कारण सहयोगको अपिल गरिएको सहयोग समितिका संयोजक चन्दबहादुर थापाले जानकारी दिए । संयोजक थापाले सवैको सहयोगी मनका कारण उपचारमा सहज भएको जानकारी दिए । थापाको हाल उपचार भै रहेको र केही दिनमा नेपाल फर्किने योजना रहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *