छात्रवृति कोषमा देउसीभैलो मार्फत क्याम्पसलाई रु. ५१ लाख संकलन


खेमराज गौतम, बागलुङ

मनोरन्जनका लागि खेलिने देउसी भैलो पछिल्लो समय सामाजिक कार्यका लागि समेत खेल्न थालिएको छ ।

यहाँको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उदेश्यले स्थापना गर्न थालिएकोे छात्रवृति कोषमा देउसी भैलो मार्फत रु. ५१ लाख ३० हजार संकलन भएको छ ।

तिहारको समयमा खेलिएको देउसी भैलो कार्यक्रम मार्फत उक्त रकम संकलन गरिएको हो ।
धौलागिरि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु. एक करोडको छात्रवृृति कोष स्थापना गर्ने लक्ष्य अनुसार खेलिएको देउसी भैलो कार्यक्रम मार्फत रु. ५१ लाख ३० हजार संकलन भएको हो ।

कात्तिक २३ गते बुधबार शुभारम्भ गरिएको कोषमा एक महिना नवित्दै आधाकरोड बढी रकम संकलन भएको हो । कोष निर्माणका लागि देउसी भैलोलाई एउटा माध्यम बनाएको र अन्य रकम स्थानीय तहको साझेदारी तथा पूर्व विद्यार्थीहरुबाट संकलन गरी कोषलाई छिट्टै नै एक करोडको बनाएर पूर्णता दिने धौलागिरि बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिपसागर कँडेलले बताउनुभयो ।

कंडेलले क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य राखेर कोष स्थापना गर्न थालिएको अभियानमा उल्लेख्य सहयोग संकलन भएको बताउनुभयो ।

“देउसी भैलौबाटै एक करोडको कोष बनाउने हाम्रो लक्ष्य थिएन, क्याम्पसका पूर्व विद्यार्थी, शिक्षप्रेमी, स्थानीय पालिका र कर्मचारी र प्रध्यापकहरुबाट सहयोग संकलन गरी करोड बनाउने लक्ष्य थियो” कंडेलले भन्नुभयो “देउसी भैलो कार्यक्रम मार्फत हामीलाई उल्लेख्य सहयोग संकलन भएको छ, अझै सहयोग गर्ने क्रम जारी रहेको छ, कोषलाई छिट्टै एक करोडको बनाउन सफल हुँने छौं ।”

देउसी भैलो मार्फत छात्रवृति कोषमा धौलागिरि बहुमुखी क्याम्पसका प्रध्यापकहरुले एक महिनाको तलब सहयोग गरेको धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक डा. राम प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन मार्फत धौलागिरी बहुमुखी क्याम्पसमा उक्त छात्रवृति कोष स्थापना गरेको हो ।
“यो एउटा वृहत कोष बिपन्न तथा जेहेन्दर विद्यार्थीलाई निःशुल्क उच्च शिक्षाको पहुँच पु¥याउन हो, कोषको सहायताले धौलागिरि बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरमा समेत वृद्धि गर्दछ” क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो “विदेशमा रहेका पूर्व विद्यार्थीहरुलाई पुर्नमिलनको कार्यक्रम मार्फत थप रकम संकलन हुन्छ, दाताहरुको नाम शिलालेखमा लेखिने छ ।“

क्याम्पस र समुदायबीचको सम्बन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष स्थापना गरिएको हो । कोष स्थापना गरी जम्मा गरिएको रकमको व्याजबाट वाषिएक १०० जना भन्दा बढी विद्यार्थीलाई छात्रवृति मार्फत निःशुल्क अध्ययन गराइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *