पञ्चकोटमा नागरिक मैत्री हेलिप्याड निर्माण

आदर्श अनलाइन, बागलुङ

बागलुङमा पहिलो पटक नागरिकमैत्री हेलिप्याड निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्धिधाम पञ्चकोट नजिकै बागलुङ नगरपालिका र नेपाली सेना मिलेर उक्त नमूना हेलिप्याड निर्माण गरिएको छ ।

हेलिप्याड नेपाली सेना पश्चिम पृतना हेटक्वाटरको एक आर्थिक वर्ष एक युनिट दुई हेलिप्याड निर्माण कार्यक्रम अन्र्तगत हेलिप्याड निर्माण गरिएको हो । सेनाले निर्माण गरेको हेलिप्याड नेपाली सेना पश्चिम पृतना हेटक्वाटरका उपरथी दिपक कुमार बानियाँले शुक्रबार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

रु. छ लाख बराबरको लागतमा निर्माण गरिएको हेलिप्याड नागरिकको सहज पहुँचमा रहने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार बागलुङ नगरपालिकाको रु. तीन लाख बजेट र नेपाली सेनाको रु. तीन लाख बराबरको श्रमदानमा उक्त हेलिप्याड निर्माण गरिएको छ । उक्त हेलिप्याड विपद्मा उद्दारका लागि महत्वपूर्ण हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको श्रीमेहर गणको जनशक्ति तथा बागलुङ नगरपाकिलाको आर्थिक व्यवस्थापनमा नागरिक मैत्री हेलिप्यान निर्माण गरी हस्तान्तरण गरिएको नेपाली सेना पश्चिम पृतना हेटक्वाटरका उपरथी दिपक कुमार बानियाँले बताउनुभयो ।

“एक युनिट दुई हेलिप्याड निर्माण अभियान अन्र्तगत पर्यटकीय स्थल पञ्चकोटमा नागरिकमैत्री हेलिप्याड बनाइएको छ जुन यो क्षेत्रकै नमूना हेलिप्याड हो” उपरथी बानियाले भन्नुभयो “अर्को हेलिप्याड जैमिनी नगरपालिकामा निर्माण गर्नका लागि जग्गा हेर्ने कार्य भइरहेको छ, अहलिे निर्माण भएको हेलिप्याडमा नेपाली सेनाको मझौला हेलिकप्टर आउन सक्छ भने अन्य खाली स्थानमा समेत आकश्मि रुपमा हेलिकप्टर राख्न सकिन्छ ।”

बागलुङ नगरपालिका भित्र सुविधा सम्पन्न हेलिप्याड नभएको भन्दै सेनाको प्राविधिक र जनशक्ति व्यवस्थापनमा बागलुङ नगरपालिकाको बजेट व्यवस्थापमा पञ्चकोटमा हेलिप्याड बनाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हेलिप्याडले नागरिकको जीवनरक्षाका लागि ठूलो योगदान गर्ने भन्दै उद्दारका लागि र धार्मिक पर्यटकहरुका लागि हेलिप्याड महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सामान्य हेलिप्याड भन्दा अहिले निर्माण गरिएको हेलिप्याड प्राविधिक हिसावले समेत सुरक्षित रहेको बताउनुभयो । बागलुङ नगरपालिका भित्र नागरिकमैत्री हेलिप्याड नहुँदा धौलागिरी क्याम्पसको जग्गामा हेलिकप्टर बस्नुपर्ने बाध्यता रहेको छ ।

हेलिप्याडले एक वडा एक हेलिप्याड कार्यक्रमलाई समेत सघाउनेछ भने राष्ट्रपति हवाई उद्दार कार्यक्रमलाई समेत सहजता प्रदान गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *