आदर्श सञ्चारले शुरु गर्याे : दिगोपनका सारथी अभियान

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाको स्थायित्व र विकासका लागि सदस्यहरुको सक्रियता बढाउने लक्ष्यका साथ दिगोपनका सारथी अभियान सञ्चालन गर्ने भएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षको असार मसान्तसम्म सञ्चालन हुने गरी दिगोपनका सारथी अभियान सञ्चालन गर्र्ने निर्णय गरेको हो ।

सहकारीलाई दिगो बनाउन सदस्यहरुको सक्रिय सहभागिता आवश्यक छ, सदस्यहरुलाई संस्थासंगको कारोबार लगायत हरेक क्षेत्रमा जोड्नका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गरेका हौ, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले भन्नुभयो,–‘सहकारी सदस्यहरुको हो, सदस्यहरुलाई जागरुक बनाउन सकेमा मात्रै संस्था दिगो रुपमा सञ्चालन हुन सक्छ ।’

दिगोपनका सारथी अभियान अन्तरगत संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई अभियानमा सहभागी हुन आव्हान गर्ने, अभियानलाई प्रभावकारी बनाउन वडा तथा टोल भेलाहरु गर्ने योजना बनाइएको अध्यक्ष जिसीले बताउनुभयो ।

वित्तीय स्थायित्वका लागि सबै सदस्यहरुले अनिवार्य रुपमा वचत गर्नका लागि चालु आर्थिक वर्ष भित्र एक पटक ः एक वर्षका लागि १० हजारदेखि ५ लाखसम्म अनिवार्य वचत गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले बताउनुभयो । १० हजार, २५ हजार, ५० हजार, १ लाख र ५ लाख रुपैया मध्ये एउटा वचत अनिवार्य गर्न, सहकारीको साख वृद्धि गर्नका लागि सकारात्मक विषयहरुलाई उजागर गर्न, सहकारीका बारेमा हुने नकरात्मक चर्चा परिचर्चाहरुलाई न्यूनिकरण गर्ने गरी अभियानलाई अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

सहकारीमा आउन सक्ने वित्तीय समस्या समाधान गर्न, संस्थाको बाह्य ऋण कम गर्न तथा वित्तीय स्थिरताका लागि सञ्चालन गरिएको अभियान अन्तरगत पुस मसान्तभित्र कम्तिमा ११ सय ३५ जना शेयर सदस्य र असार मसान्तसम्म सबै सदस्यलाई सहभागि गराउने लक्ष्य संस्थाले लिएको छ ।

आदर्श सञ्चार सहकारी संस्थामा हाल ३४ सय ४० जना शेयर सदस्य, ५ करोड ६० लाख शेयर रकम, २१ करोड बचत र ३५ करोड ऋण लगानी रहेको प्रवन्धक सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *