पर्यटनलाई धार्मिक क्षेत्रसंग जोड्नुपर्छ : मन्त्री जुग्जालीको

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको पुलाचौरमा रहेको जगन्नाथ मन्दिरको उद्घाटन गर्दै धर्म र पर्यटनलाई सँगसँगै जोडेर धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नुपर्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभएको छ ।

उहाँले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै म्याग्दीका प्रमुख धार्मिक तीर्थस्थल गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ र ताकम कोटलगायत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो । धर्मको नाममा बिकृति र अराजकता फैलिँदै गएको बताउँदै मन्त्री जुग्जालीले यस्ता गतिविधिले समाजमा सद्भाव खल्बलिने हुँदा यस तर्फ सबैले सचेत बन्नुपर्ने बताउनुभयो ।

विगतको तुलनामा विकासको गति बढेको बताउँदै मन्त्री जुगजालीले बेनीदेखि जगन्नाथसम्म सहज रुपमा आउन सक्ने गरी सडकको स्तरोन्नति र विकास गर्न सक्दो पहल गर्ने धारणा राख्नुभयो ।

संविधान सभा सदस्य गोविन्द पौडेलले अर्थुङ्गे–पुलाचौर–चिप्लेटी र नयाँगाउँ–जगन्नाथ जोड्ने सडकको ट्रयाक खुल्दा सर्वसाधारणलई निकै सहज भएको बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले प्रदेश सरकारमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले जोड दिइएको बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जगन्नाथ क्षेत्र धार्मिक हिसाबले उत्कृष्ट गन्तव्य रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उचित तबरले प्रचार प्रशार पनि गर्नु पर्नेमा जोड दिनुभयो ।

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिकाको ५ नम्बर वडामा पर्ने पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरुको प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो । जगन्नाथ धाम (मन्दिर) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले २०६९ सालमा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञमा सङ्कलन भएको रकमले नै जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको हो ।

सो महायज्ञमा एक करोड आठलाख रुपैयाँ संकलन भएको थियो । उक्त रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो । महायज्ञ सञ्चालन गरेको ११ वर्ष विति सक्दा पनि चन्दादाताहरुले बोलेको आठलाख रुपैयाँ रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *