बेनी नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको जनाएको छ । पुँजीगततर्फ चालु १७ करोड ९१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा पहिलो चौमासिकमा दुई करोड १० लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी चालुतर्फ ५२ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड ८४ लाख ५८ हजार बजेट खर्च भएको छ ।

बेनी नगरपालिकाले वडा नम्बर ५ पुलाचौरमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा उक्त जानकारी गराइएको थियो । चालु आवमा कुल चार करोड ५४ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने अनुमान गरिएकोमा हालसम्म एक करोड १५ लाख ४५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा पाँच दशमलव ३७ प्रतिशत, सामाजिक विकासतर्फ २२ दशमलव ३६, पूर्वाधारतर्फ १४ दशमलव ९४, सुशासन तथा अन्तरसम्बन्धितमा सात दशमलव ७६ र कार्यालय तथा प्रशासनिक क्षेत्रमा २८ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालु आवको पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाइमा विषयगत शाखाको समेत संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । सार्वजनिक सुनुवाइमा सहभागीहरुले पुलाचौर स्वास्थ्यचौकीमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन नभएको, उपभोक्ता समितिहरुलाई पेश्की दिनुपर्ने, कक्षा १–५ मा दरबन्दीअनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्ने, तातोपानी कुण्ड, गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई करको दायरामा ल्याउनुपर्ने, निर्माणाधीन रावणपार्कलाई तीव्रता दिनुपर्ने, बेनी–पुलहाश्रम र जगन्नाथसम्मको सडक स्तरोन्नति गर्नुपर्ने माग राखेका थिए ।

सार्वजनिक सुनुवाइमा रामप्रसाद सुवेदी, रामचन्द्र पौडेल, टंकनाथ शर्मा, हरिप्रसाद पौडेल, यामबहादुर बानियाँ, शान्ति शर्मा, मोतिलाल नेपाली, रामु बानियाँ, भोजबहादुर कार्की, गिरेन्द्र बानियाँ, खड्कबहादुर दर्जी, प्रेमबहादुर नेपाली, यामकुमारी पुन र प्रेमबहादुर बानियाँलगायतले आफ्ना गुनासा तथा प्रश्न राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाको उत्तर दिँदै नगर प्रमुख सुरत केसीले ग्रामीण भेगमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बिक्री वितरणको व्यवस्थापन गर्ने पहल भैरहेको जानकारी दिनुभयो । उहाँले अव्यवस्थित रुपमा विद्युतका पोल र तारहरुलाई व्यवस्थापन गरिने बताउँदै बेनी नगरपालिकाले कुनै पनि करको दररेट परिवर्तन नगरिएको बताउनुभयो । कानुनी झमेलाका कारणले भाडादर समायोजनमा समस्या भएकाले समाधानका लागि आवश्यक पहल गरिने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिइएको बताउँदै यसवर्ष बेनीको २ र १० नम्बर वडामा ‘उपमेयरसँग आमा’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेल, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), बेनी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर अनुषा मानन्धर र बेनपाका इन्जिनियर बिमलरञ्जन कार्कीले कार्यक्रम तथा योजनाको बारेमा जानकारीसहित जवाफ दिनुभएको थियो । कार्यक्रम बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार कमल खत्री र प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *