नेफ्स्कुन अध्यक्षमा पौड्यालको उमेदवारी घोषणा


आदर्श अनलाइन, बागलुङ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदका लागि संघका वर्तमान अध्यक्ष परितोष पौड्यालले पुनः उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत पौडेलले आगामी कार्यकालका लागि अध्यक्षमा उमेदवारी घोषणा गर्नु भएको हो ।

पुसका ७ र ८ गते काठमाडौंमा नेफ्स्कुनको ३२ औं वार्षिक साधारणसभा हुदैछ, साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

उमेदवारी घोषणा कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारी, पूर्व प्रमुखहरु केशव बडाल, कमल चौलागाई र धर्मदत्त देवकोटा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगायत सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

नेफ्स्कुनमा आफुहरुले अगाडि बढाएका कामलाई सम्पन्न गर्नका लागि उमेदवारी दिन लागेको अध्यक्ष पदमा उमेदवार घोषणा गरेका पौड्यालले बताउनु भएको थियो । संघको अध्यक्षमा यस अगाडि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उमेदवारी घोषणा गर्नु भएको छ । ढकालले नेतृत्व हस्तान्तरण गर्नु पर्ने एजेण्डा सहित विगत लामै समयदेखि चुनावी चर्चा चलाउदै आउनु भएको छ ।
नेफ्स्कुनको निर्वाचनका लागि मंसिर ३० गतेसम्म प्रतिनिधि चयन भइसकेको र पौड्यालले प्रतिनिधिको आंकलन पछि उमेदवारी घोषणा गरेको बताउनु भएको थियो ।

नेफ्स्कुनको १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि देशका विभिन्न क्षेत्रमा क्रियाशिल सहकारीकर्मीहरुले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
विगतमा मुख्य पार्टीमा आवद्ध सहकारीकर्मीहरुबीच सहकार्य हुने गरेकोमा यस पटक निर्वाचन हुने आंकलन सहकारीकर्मीहरुले गरेका छन् । अध्यक्षमा परितोष पौड्याल र चन्द्र ढकालका बीच प्रतिस्पर्धा हुने भएपछि अन्य पदहरुमा समेत चुनाव हुन सक्ने देखिएको छ ।

यद्यपी निर्वाचनको दिनसम्म मुख्य राजनीतिक दलमा आवद्ध सहकारीकर्मीहरुबीच सहमतिका लागि छलफल चल्ने जनाइएको छ । सबैलाई मिलाएर लैजानका लागि अध्यक्ष मात्रै घोषणा गरिएको र सबैसंगको सम्वाद र छलफल पछि अन्य उमेदवारको टुंगो लगाइने उमेदवारी घोषणा कार्यक्रममा जानकारी गराइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *