रायडाँडामा बागलुङ नगरपालिकाको सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–११ रायडाँडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि बागलुङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सार्वजनिक सुनुवाईको भएको हो ।

सार्वजनिक सुनुवाईमा पहिलो चौमासिकमा १५२ वटा योजना सम्झौता गरिसकेको, हालसम्म पालिकाको बजेटको आय ६६ करोड भएको र खर्च ३० करोड रुपैयाँ भएको प्रमुख प्रशासकीय अधिकृत हरीदत्त कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै गएको, यातयात भाडामा मनपरी भएको, गाउँमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसकेको, बाँदर आतङ्क बढेको, उत्पादन घट्दै गएपछि भोकमरीको अवस्था आउन सक्ने भन्दै नागरिकबाट गुनासो उठेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय शेरबहादुर थापा, यामप्रसाद गौतम, ओमबहादुर केसी, रत्नाकर पौडेल लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

कार्यक्रममा जनताको गुनासो, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरीदत्त कँडेल, वडा नम्बर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम र बागलुङ नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जवाफ दिनुभएको थियो । जनताको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरेका कामकारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताउनुभयो ।

जनताका हरेक समस्यालाई आफूहरुले नजिकबाट बुझ्ने र सल्लाह सुझाव अनुसार आगामी दिनमा काम गर्ने बताउनुभयो । नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई कामप्रति थप जिम्मेवार बनाउने प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गर्नुभएको थियो भने पत्रकार प्रकाश बरालले नागरिक सर्वेक्षण सन्तुष्टि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता र पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *