सहकारीको दिगोपनका लागि सदस्य केन्द्रीत बनौ : सांसद बुढा

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशसभाका सदस्य कुशुम बुढाले सहकारीको दिगोपनाका लागि सदस्य केन्द्रीत अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको छ ।

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाको बिहीवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारी सदस्यहरुको सक्रिय सहभागितामा सफल हुने व्यवसाय हो, सदस्यहरुलाई सहकारीको यथार्थ अवस्था, योजना, कार्यक्रमसहित दिगोपनाका लागि सक्रिय सहभागितामा जोड दिनु पर्ने उहाँको भनाइ छ ।

बागलुङ, कास्की लगायतका ठाउँमा केही सहकारीले धेरै वचतकर्ताको ठुलो रकम भुक्तान गर्न नसकेपछि पटक पटक प्रदेशसभामा कुरा उठाएको र प्रदेश सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनु भएको छ । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि गण्डकी प्रदेशसभामा पटक पटक कुरा उठाए पनि समाधान हुन नसकेको बताउनु भएको छ ।

सहकारीका समस्या समाधानका विषयमा प्रदेश सरकारको भूमिका संघीय सरकारमा सिफारिस र स्थानीय तहमा निर्देशन गर्ने खालको देखिएको बताउनुभयो । कानुनमा सुधार गर्नु पर्ने देखियो, सहकारीमा समस्या आएपछि प्रदेश सरकारले समाधान गर्न खोज्दा पनि कानुनको अभावमा समस्या समाधान गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको सवलताका लागि सरकार र अभियानबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघ बागलुङका सल्लाहकार अशोक गोविन्द राजभण्डारी, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बहुउद्दश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षता सचिव चुडामणी आचार्यको सञ्चालन र सहसचिव हिरामणी उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो ।
साधारणसभाले सचिव आचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेशम थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हुम बहादुर थापाले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *