शिक्षकहरुको व्याडमिन्टन प्रतियोगिताको उपाधि गु्राँस विद्या सदनलाई

रोहन जि.सी, बागलुङ

चिल्ड्रेन लाईफ स्पोटर्स क्लब बागलुङले आयोजना गरेको जिल्ला विद्यालय स्तरीय शिक्षकहरुको डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि गुँरास विद्या सदनले प्राप्त गरेको छ ।

स्वास्थ्यका लागि खेलकुद अवधारणा अन्तर्गत पुस १४ गते बागलुङ जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बीच व्याडमिन्टन प्रतियोगिता संचालन भएको प्रतियोगितामा चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुललाई फाइनलमा २१–९ र २१–१७ को शुन्यका विरुद्ध २ सेटमा पराजित गर्दै गुँरास विद्या सदन विजेता भएको हो ।

शिक्षकहरुले पाठ्यक्रमको शिक्षणमा मात्र नभएर खेल क्षेत्र तथा अतिरिक्त क्रियाकलापमा पनि सबल रहन तथा जोड्नका लागि समेत शिक्षकहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी बागलुङमा प्रथम पटक शिक्षकहरुको ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो ।

शनिबार सम्पन्न भएको खेलमा विजेता विद्यालय गुँरास विद्या सदनका तर्फबाट मिलन खत्री र कल्याण भण्डारी त्यस्तै उपविजेता विद्यालय चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलको तर्फबाट बुद्धिबल थापा मगर र तार्जन कायत मगर रहनुभएको चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका उपाध्यक्ष जीवन रोका क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा बागलुङ जिल्ला अन्तर्गतका विभिन्न सामुदायीक एंव निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको सहभागीतामा रहेको थियो । बागलुङ सदरमुकामका विद्यालयहरुबाट १३ टिम र गलकोटबाट एक टिम गरी १४ टिमको सहभागिता रहेको चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका सदस्य सुशिल राजभण्डारीले बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर २ स्थित रुद्रेपिपलको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको उद्घाटन पछि बोल्दै जिल्ला ब्याडमिन्टन संघ बागलुङका उपाध्यक्ष विर बहादुर किसानले खेलमा रुचि राख्नेहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले यस प्रकारका अतिरिक्त कार्यक्रमहरु गरेर किताबी ज्ञानमा मात्र निर्भर रहेका शिक्षकको हौसला तथा स्वास्थ्यमा सकारात्मक प्रभाव बढाएको बताउनुभयो ।

कार्यक्रम चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता, सहसचिव सु्रेश सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको विजेता टोली गुँरास विद्या सदनले १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र र दोस्रो टोली चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलले ६ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका कोषाध्यक्ष तथा उक्त खेलका संयोजक सौगातजंग खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *