सहकारी महासंघको साधारणसभामा महिलाको प्रतिनिधित्व १० प्रतिशत मात्र : आदर्श सञ्चार सहकारीका दुई अध्यक्ष महिला प्रतिनिधि

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघको पुस २७ र २८ गते हुने निर्वाचन सहितको ३१ औ वार्षिक साधारणसभामा महिलाहरुको सहभागिता १० दशमलव १० प्रतिशत मात्र रहेको छ । २८७ जना प्रतिनिधिमा महिलाको संख्या २९ जना मात्र रहेको महासंघले जनाएको छ ।

महासंघको साधारणसभामा प्रतिनिधित्व गर्ने महिलाहरुमा कोशी प्रदेशबाट २ जना, मधेश प्रदेशबाट २ जना, बागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ८ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली प्रदेशबाट १ जना, सुदुरपश्चिम प्रदेशबाट ५ जना तथा केन्द्रीय संघहरुको तर्फबाट १ जना प्रतिनिधि चयन हुनु भएको छ ।

१७ वटा केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने १८ जना प्रतिनिधि मध्ये नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष मन कुमारी केसी जिसी मात्र महिला प्रतिनिधि रहनु भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष रहेकी केसी जिसी उक्त संस्थाको प्रतिनिधित्व गर्दै नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको संस्थापक उपाध्यक्ष र हाल अध्यक्ष रहनु भएको छ ।

महासंघमा देशभरका ५८ वटा जिल्ला सहकारी संघका प्रतिनिधि छनोट भएका छन् । जिल्ला सहकारी संघका तर्फबाट कोशी प्रदेशबाट ११ जना, मधेश प्रदेशबाट ५ जना, बागमती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट ८ जना, लुम्बिनी प्रदेशबाट ९ जना र सुदुरपश्चिम प्रदेशबाट ८ जना गरी ५८ वटा जिल्ला सहकारी संघबाट महासंघमा प्रतिनिधित्व रहेको छ ।

जिल्लाको सहकारीहरुको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघबाट प्रतिनिधित्व हुने प्रतिनिधिहरु मध्ये महिला दुईजना मात्र प्रतिनिधि चयन हुनु भएको छ ।
जिल्ला सहकारी संघहरुको तर्फबाट जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) र जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका इश्वरी जोशी जिल्ला सहकारी संघ मध्येबाट प्रतिनिधि छनोट हुनु भएको छ ।

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङका संस्थापक अध्यक्ष समेत रहेकी जिसी हाल आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको प्रतिनिधित्व गर्दै जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष रहनु भएको छ ।

जिल्लाको नेतृत्व गर्ने जिल्ला सहकारी संघ र केन्द्रीय सहकारी संघहरुको नेतृत्व गर्ने केन्द्रीय संघका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै जना महिला प्रतिनिधिको प्रारम्भिक संस्था आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
महासंघको साधारणसभामा २ सय ८७ सदस्य संघका प्रतिनिधिलाई कायम गर्ने निर्णय बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले गरेको छ ।

महासंघमा ३ सय १८ सदस्य संघहरु आवद्ध रहेका छन् । महासंघको वैठकले कोशी प्रदेशबाट ५८ सदस्य, मधेशबाट ३०, बागमतीबाट ८८, गण्डकी प्रदेशबाट ३७, लुम्बिनी बाट ३७, कर्णालीबाट १४ र सुदुरपश्चिमबाट २३ सदस्य कायम गर्ने निर्णय गरेको छ ।

२५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिका लागि २८ गते निर्वाचन हुने महासंघका महाप्रबन्धक चित्रा कुमारी सुब्बाले बताउनुभएको छ । ‘महासंघको स्विकृत निर्वाचन निर्देशिका अनुसार संचालक समितिमा महिलाका लागि ८ कोटा कायम छ भने लेखा सुपरिवेक्षण समितिमा कम्तिमा १ जना महिलाको अनिवार्य प्रतिनिधित्व रहने छ ।’ उहाँले बताउनुभयो ।

महिलाका लागि १ उपाध्यक्ष, ७ प्रदेशमध्ये बागमती र लुम्बनी प्रदेशबाट १/१ जना महिला अनिवार्य र अन्य ५ जना महिलाका लागि खुला प्रतिस्पर्धा हुनेछ । लेखा सुपरिवेक्षण समितिमा १ महिलासहित तीन सदस्यीय समितिको निर्वाचन हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *