बागलुङमा प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ

बागलुङमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । बागलुङ एकता क्लबको आयोजनामा आजदेखी संचालन भएको प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणको खेलबाट शुक्रबार २ टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा वान्टेड फेमेली, बेनीलाई आदर्श विद्यामन्दिर मा.वि बागलुङले जीत हासिल गरेको छ।प्रतियोगिताको पहिलो खेलमा २–२ गोल गरी बराबर भएपछि पेनाल्टी सुटआउटमा वान्टेड फेमेली विरूद्व आदर्श विद्यामन्दिर मा.विले जित हासिल गरेको छ ।

दोर्सो खेलमा रिकल कन्सलटेन्सीलाई शुन्यका विरूद्व ३ गोल गर्दै गुठी युनाईटेड बि दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै खड्काले युवाहरूलाई खेलकुदमा जोड्दै उनीहरूको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउन यस प्रकारका प्रतियोगिता गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व संघिय सांसद मनकुमारी के.सी, जि.सी, जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष राहुल बोहोरा लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम बागलुङ एकता क्लब अध्यक्ष इन्सान थापाको अध्यक्षता, सचिव रमेश भण्डारीको स्वागत तथा रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

खेलकुदको पहिचान एकताको अभियान’ नारा दिइएको उक्त फुटबल प्रतियोगिता बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बाङ्गेचौर खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

बागलुङ एकता क्लबका पुर्व सदस्यहरु स्व आशिष खत्री, स्व रविन पुन, स्व सुनिल पुन, स्व जित घर्ति, स्व विवेक श्रेष्ठ, स्व शुसिल जि.सी, स्व सुनिल के.सी, स्व क्षितिज श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको विजेता टोलीले ६६ हजार ६६६, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले ३३ हजार ३३३, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने क्लबका कार्यक्रम संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *