सहकारीको साख बढाउन सहकार्य गरेर अगाडि बढ्छौ : महासंघ अध्यक्ष मल्ल


आदर्श अनलाइन, काठमाण्डौ ।

राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष ओमदेवी मल्लले सहकारीको साख बढाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
महासंघको ३१ औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित मल्ले शनिवार सपथ ग्रहण पछि यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

यतिबेला सहकारीमा केही समस्याहरु देखिएका छन्, वित्तीय क्षेत्रसंगै सहकारी अभियानमा देखिएको चुनौैतीलाई सामना गर्दै सहकारीको साख बढाउनका लागि सरकार, अभियान र अन्य सरोकारवालाहरुबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने अध्यक्ष मल्लले बताउनुभयो ।


महासंघको निर्वाचन क्रममा केही सहकारीकर्मीहरु छुट्नु भएको छ, प्रक्रियामा छुट्नु भएका साथीहरुलाई साथ लिएरै अगाडि बढ्ने प्रतिवद्धता गर्दै अध्यक्ष मल्लले सहकारी अभियानलाई सबैको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्नका लागि सबै सहकारीकर्मीहरुको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष मिनराज कंडेलले नेपालको सहकारी इतिहासमा पहिलो पटक महिलाले मुल नेतृत्व गर्ने अवसर आएको चर्चा गर्दै ओमदेवी मल्लले सहकारी अभियानमा निरन्तर गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नया टिमले सहकारी क्षेत्रका समस्या समाधानका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने अपेक्षा व्यक्त गर्नु भयो ।

महासंघका पूर्व अध्यक्ष केशव बडाल, निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, महासंघका निवर्तमान सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीलाई जनताको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण साझेदारका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

महासंघको ३१ औं वार्षिक साधारणसभाबाट ओमदेवी मल्लको नेतृत्वमा निर्विरोध निर्वाचित सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल, उपाध्यक्षमा खेम बहादुर पाठक र डि.बी.बस्नेत तथा महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्वाचित हुनु भएको छ । महासंघको लेखा सुपरीवेक्षण समितिका संयोजकमा भीम प्रसाद तुलाचन निर्वाचित हुनु भएको छ ।

यस्तै सञ्चालकहरुमा टेक प्रसाद चौलागाई, हुमा कुमारी जि.सी.(अञ्जु), बद्री प्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधव प्रसाद जोशी, शम्भु प्रसाद, छत्र प्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेम प्रसाद सुवेदी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी सुवेदी पौडेल रहनु भएको छ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा अम्मर नाथ न्यौपाने र हेम कुमारी अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई निर्वाचन समितिका संयोजक हिमा बस्नेतले सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष ओमदेवी मल्ललाई निवर्तमान अध्यक्ष मिनराज कंडेलले शनिवार नै पदभार हस्तान्तरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *