बक्यौता नतिर्ने उपभोक्ताको धारा काटिन्छ : राना


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष केवि रानामगरले खानेपानी उपभोग गरेर बक्यौता रकम नतिर्ने उपभोक्ताको धारा काट्ने बताउनुभएको छ ।
आइतबार नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाण्पत्र वितरण कार्यक्रममा प्रतिवद्धता मन्तव्यमा रानामगरले लिफ्ट आयोजना सम्पन्न गर्ने, इन्जिनियर नियुक्ती गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने बताउनुभएको छ ।

उहाँले लामो समय बक्यौता नतिर्ने उपभोक्ताको धारा काट्ने बताउदै यस विषयमा बागलुङ नगरपालिकाले सहयोग गर्नेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

उपभोक्ताको बक्यौताको रकम अध्ययन पछि चरणबद्ध रुपमा काम गर्ने बताउनुभयो ।
“पहिलो चरणमा बक्यौता तिर्नको लागि पत्राचार गर्छौँ, दोस्रो चरणमा त्यस्ता ग्राहकलाई भेट्छौँ र बिल भुक्तानी गर्न अनुरोध गर्छौँ, तेस्रो चरणमा बक्यौता नतिर्नेको नाम सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण गर्छौँँ” रानाले भन्नुभयो “त्यति गर्दा पनि बक्यौता तिर्नु भएन भने मेरै अग्रसरतामा धारो काटिन्छ, यस कार्यमा नगरपालिका र प्रशासनको सहयोग पाउनेछु ।” उनले निजी घर तथा सरकारी कार्यालय जसको भए पनि बक्यौता नदिए धारो काटिने बताउनुभयो ।

आफ्नो कामको योजना सुनाउँदै उनले कैलम पोखरी लिफ्टिङ खानेपानी आयोजना सफल बनाउन आफु लाग्ने बताउदै कार्यालयमा प्राबिधिक जनशक्ति समेत नभएको उल्लेख गर्दै एक जना ईन्जिनियर राख्ने बताउनुभयो । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिका नगर प्रमुख प्रमुख वसन्त कुमार श्रेष्ठले नयाँ कार्य समितिलाई बधाई दिदै खानेपानी तथा सरसफाई समितिको विद्यान परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले अहिलेको विद्यान समयानुकुल नभएको उल्लेख गर्दै समयानुकुल बनाउन खानेपानीलाई अनुरोध गर्दै खानेपानीको समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

नगर उपप्रमुख राजु खड्काले नगरखानेपानीलाई सघाउने बताउनुभयो । नागरिकलाई सफा पानी उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्दै त्यसको लागि आफुहरुले समन्वय र सहकार्य गरेर अघि बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन समितिका संयोजक चित्राङ्गत बरालले समितिले गर्ने राम्रा कामको लागि आफुहरुले निरन्तर सहयोग गर्ने बताउदै निर्वाचितलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी तथा निर्वाचन समिति सदस्य कृष्णराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *