अमृत बास्कुने, म्याग्दी
अन्नपर्ण गाउँपालिका–७ हिस्तानकी मतिसिरी पुनले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गर्नु भएको छ । बेनी अस्पतालका डाक्टरसहित अन्नपूर्ण गाउँपालिकाको टोली घरमै पुगेर उहाँलाई आफ्नै घरको बिस्तरामा परिचयपत्र प्रदान गरेको हो । वि.सं २०२५ साल असार १५ गते जन्मेकी पुनलाई वडा अध्यक्ष मइलन पुर्जाको अग्रह बमोजिम गाउँपालिकाको टोली र डाक्रले आएर घरमै पुगेर अपाङ्गता परिचयपत्र थिएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना नागरिकको सहजताको लागि घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत अपाङ्गहरुलाई घरैसम्म पुगेर पनि परिचयपत्र वितरण गरेको हो । अपाङ्गता भएका नागरिकहरु गाउँमा रहेको भए पनि उनीहरु परिचयपत्र लिन जान नसक्ने अवस्थाले गर्दा सेवाबाट समेत वञ्चित भएकोले नागरिकको सुविधाका लागि घरमै पुगेर परिचपयत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्र्ण गाउँपालिकाले शिविर मार्फत ५० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । अपाङ्ता भएकाहरू परिचयपत्र लिनबाट बन्चित भएको अवस्थामा वडास्तरमा पुगेर सेवा दिने र अशक्तहरुलाई उनीहरुको घरमै पुगेर पनि परिचयपत्र हस्तान्तरण गर्ने कार्य गरीएको उहाँको भनाई छ ।
गाउँपालिकाले वडामा पायक पर्ने स्थानबाट वितरण गर्ने भन्ने लक्ष्य भए पनि वडा सम्म पुग्दा शिविर तोकेको स्थानमा पनि आउन नसक्ने खालका अपाङ्गहरुलाई सम्बन्धीतको घरमै पुगेर परिचयपत्र वितरण गरिएको अन्नपूर्र्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलीजा पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– शिविरमा महिला २३ र पुरुष २७ जनालाई परिचयपत्र वितरण गरिएको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगर, हिस्तान र राम्चे गरी तीन ठाउँलाई केन्द्र मानेर शिविर शुरु गरिएको थियो । शिविरबाट पूर्ण अशक्त अपाङ्गता (क) भएका १२ जनालाई, अति अशक्त अपाङ्गता (ख)को २६ जना र मध्यम अपाङ्गता (ग) १० र साधारण अपाङ्गता (घ) १ जना गरी ५० जनालाई परिचयपत्र दिइएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । हामीले कम उमेरका ७ बर्षको बालकदेखि ६८ बर्षका जेष्ठ नागरिकलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो ।
परिचयपत्र नहुँदा राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको सुविधा पाउन समेत समस्या भएको कारणले पनि गाउँघरमै पुगेर परिचयपत्र वितरण गरिएको थियो । गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका नागरिकको लागि पोखरेबगर र वडा नं ७ र ८ को सम्बन्धीत वडामै पुगेर शिविर मार्फत परिचयपत्र वितरण भएको अन्नपूर्र्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो ।
परिचयपत्र वितरण शिविरमा बेनी अस्पतालका डा. रोशन आचार्य, डा.करुणा कार्कीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नुभएको थियो । गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी गाउँपालिकाले घुम्ती शिविर गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।