सहकारीको गुणस्तर बढाउन एकीकरणमा जाऔ : अध्यक्ष मल्ल


आदर्श अनलाइन, काठमाण्डौ

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई संख्यात्मक भन्दा पनि गुणस्तरीय बनाउनका लागि एकीकरणमा जोड दिनु पर्ने बताउनुभएको हो । भक्तपुर जिल्लाका महिला सहकारीकर्मीहरुसंग बुधवार महासंघमा भएको छलफलका क्रममा अध्यक्ष मल्लले संख्या भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको हो ।

सहकारी धेरै हुदा नियमन अनुगमन पनि प्रभावकारी हुन सकेन, संस्थाहरुको लागत बढ्नुका साथै व्यवसायमा वृद्धि नहुने भएकाले कर्मचारीहरुलाई समेत राम्रो सेवा सुविधा दिन कठिनाइ भएको छ, अध्यक्ष मल्लले भन्नुभयो, जुन संस्थाले गुणस्तरलाई ध्यान दिएका छन्, तिनले व्यवसायिकतामा पनि सफलता पाएका छन्, सबै सहकारीहरुले गुणस्तर वृद्धिको योजना बनाएर अगाडि बढ्नु पर्दछ ।

मुलुकमा सहकारी क्षेत्रमा मात्रै समस्या आएको जस्तै गरी चर्चा हुने गरेको प्रसंग कोट्याउदै अध्यक्ष मल्लले सहकारीसंगै सबै क्षेत्रमा समस्या आएको छ, समस्याको पहिचान गर्दै समाधानका लागि सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरु सबै जुट्नु पर्ने उहाँको भनाइ छ ।

सहकारीलाई व्यवसायिक बनाउने, सदस्यमैत्री बनाउने, ऐन कानुनहरुको पूर्ण रुपमा पालना गर्दै अगाडि बढ्न सकेमा मात्रै यो क्षेत्रलाई सुशासित र व्यवस्थित गराउन सकिने भएकाले सबै सहकारी संघ संस्थाहरुले यसतर्फ ध्यान दिन उहाँले आव्हान गर्नु भयो ।

महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सन २०३० सम्ममा सहकारीको संख्या घटाएर १० हजार बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले सहकारीलाई संख्यात्मक रुपमा घटाउने र गुणस्तर वृद्धि गर्ने अभियानमा सबैको चासो हुनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला सहकारी संघ भक्तपुरका सञ्चालक सहना पसखलको नेतृत्वमा आएका भक्तपुरका महिला सहकारीकर्मीहरु र महासंघका अध्यक्ष तथा महाप्रवन्धकबीच सहकारीलाई सुशासनयुक्त बनाउने, एकीकरण र व्यवसायिकताका विषयमा छलफल भएको थियो । भक्तपुरका महिला सहकारीकर्मीहरुका तर्फबाट महासंघमा हालै निर्वाचित अध्यक्ष मल्ललाई वधाई ज्ञापन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *