आदर्श अनलाइन, म्याग्दी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताको चाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गदैं उहाँले सरकारले जनताको चाहना अनुरुपको काम गर्ने तर्फ ध्यानै नदिइ जनविरोधी कार्यमा नै उद्दत रहेको बताउनुभयो ।
सरकार गर्न हुने काम गर्दैन, गर्न नहुने काम सबै गर्दै हिडेको छ, देशको समग्र अवस्था वर्तमान गठबन्धन सरकारका कारण भएको हो । अब छिटै सरकारका विरुद्ध, देश जोगाउनतर्फ ध्यान नदिएको सरकारलाई ब्यूझाउनका लागि सशक्त संघर्ष थालनी गर्दैछौ, महासचिव पोखरेलले भन्नुभयो, –पार्टीका सबै कमिटिहरुलाई सशक्त संघर्षमा उत्रिने गरी तयारी रहन आव्हान गर्दछु ।
सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको उहाँको आरोप थियो । नेपाल र नेपाली जनताको लागि यो सरकार कुनै पनि हिसाबले हितकार नरहेको र अहिलेको सरकारकै कारण देश संकटमा परेको उहाँले भनाई थियो । गठबन्धन सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के पाउँछ वा ल्याउने छ भनेर आशा गर्नु भन्दा पनि देशले के गुमाउनुपर्नेको भन्ने चिन्ता आम जनतामा हुने गरेको बताउनुभयो ।
भारतीय नाकाबन्दीको सामाना गदैं स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गराउँदै उहाँले भन्नुभयो–गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर उचो बनाउने भन्दा पनि झुकाउने काम गरेको छ । नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले नेपालको नक्सामा कालापानी लिपुलेक र लिम्पियाधुरा समेट्नुका साथै पारवाहन सन्धीले दिर्घकालिन हितको पक्षमा काम गरेको बताउनुभयो ।
कांग्रेस नेतृत्वको सरकारको पालामा भएको नाकाबन्दीलाई एमाले आएर चिरेको र नाकाबन्दीको सामना गरी रहेकै समयमा चीनसँग व्यापार, पारवहन सम्झौता गदै भारतसँग बषौंदेखि नसुल्झिएका समस्या सुल्झाउने कामको नेतृत्व गरेको तर्फ स्मरण गराउँदै भन्नुभयो–‘अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको छ ।’ अहिलेको सरकारले मुलुकलाइ अहिलेको कमजोर अवस्था पु¥याएकोले एमाले सत्ता बाहिर भएपनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिएर आगाडी बढ्दै गरेको महासचिव पोखरेलको भनाई थियो ।
देशमा भ्रष्टाचार तथा महंगि उचो हुनु भनेको नेपालको कमजोर लोकतन्त्र अनि मुलुक बनाउने एजेण्डा बोकेको नेकपा एमाले सत्ता बाहिर हुदाँ जनताले दुख पाएका छन् । सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षकको रुपमा काम त गरेको छैन भनेर आम जनताले शंका गरेको आरोप लगाउनुभयो ।सुन तस्करसँगको उठबसका कारण आर्थिक संकट देखिएको र अहिले देशमा लगानीको वातावरण नबन्दा युवाहरुको विदेश पलायनको दर उच्च गतिमा बढेको उहाँको भनाई थियो । अहिलेकै सरकारको निरन्तरता हुनु भनेको देश बर्बादीको मार्गमा अगाडी बढ्नु भएको हुनाले यस्तो अवस्थाबाट मुलुकलाई जोगाउनका लागि पनि वर्तमान गठबन्धनको सरकार बिस्तापित हुनुपर्छ पोखरेलले भन्नुभयो ।
अहिलेको गठबन्धन सरकारले गर्दा मुलुकमा अराजकता, दण्डहिनता बढ्नुका साथै भ्रष्टाचार र महंङ्गी बढेकोले नेकपा एमालेको सरकार अहिले देशको लागि अपरिहार्य भएको बताउनुभयो । उहाँले भारत सँग नतमस्तक हुँदै लम्पसार परेको सरकारले चीनसँगको सम्बन्धलाई भने कमजोर बनाउने प्रयास गरेको उहाँको धारणा थियो । नेकपा एमालेको सरकारले तीनै तहका सरकारलाई विनियोजन गरेको बजेटलाई वर्तमान सरकारले कटौती गरेकोले अब सबै तहको विकास र मुलुकको समुन्नतीका लागि एमालेको सरकार नै आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।
स्थानीय तहमा निर्माणधिन अवस्थामा रहेका अस्पतालको शिलन्यास सहित बजेट विनियोजन गर्दा अहिलेको सरकारले बजेट घटाएर अलपत्र पारेर देशका जनताको स्वास्थ्यमाथी नै खेलवाड गरेको बताउँदै नेपालमा एमालेको सरकारको पालामा भएका काम र अहिले गठबन्धनको सरकारको कामबाटै कस्को सरकार मुलुकमा चाहिन्छ भन्नेमा जनता प्रष्ट भएको धारणा राख्नुभयो ।
जिल्ला अधिवेशनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारी, थममायाँ थापा, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, छिमेकी जिल्ला बागलुङका अध्यक्ष हिरा केसी, एमाले केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।
एमाले म्याग्दीको जिल्ला अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट आएका प्रतिनिधिसहितको ¥यालीले बेनीबजार परिक्रममा गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुबेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम भएको थियो । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको बन्द सत्र मार्फत शनिबार नयाँ नेतृत्व चयन हुने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।