तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप सुरु

रोहन जि.सी, बागलुङ

तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (सेतो) र फ्युचर ब्राइटर माध्यमिक विद्यालयले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफले गुराँस विद्या सदनलाई १–० गोलअन्तरले पराजित गर्यो । चिल्ड्रेन लाईफको जितको लागि खेलको २० औं मिनेटमा बिराज किसानले गरेको गोल नै निर्णयक बन्यो । गुराँसका गोलरक्षकको गल्तीमा पाएको मौकालाई बिराजले गोलमा परिणत गरेका थिए ।

यस्तै बिहिबारको दोस्रो खेलमा फ्युचर ब्राइटर माध्यमिक विद्यालयले गरिमा आवासिय माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गरेको छ । खेलको सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गरेको फ्युचरको लागि खेलको १४ औं मिनेटमा अंगद शर्माले गोल गर्दै खाता खोलेका थिए । गरिमाका गोलरक्षक दिप घर्तिले राम्रोसँग क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट शर्माले गोलमा परिणत गरेका थिए ।

फ्युचरको लागि दोस्रो गोल खेलको १६ औं मिनेटमा अमृत शर्माले गरेका थिए । उनले डिबक्स भित्र गोलरक्षक र डिफेन्डरलाई विट गरेर गोल गरेका थिए । फ्युचरको लागि तेस्रो गोल खेलको २० औं मिनेटमा किरन थापाले गरे । गरिमाका खेलाडीले मैदानको विचभागमा फल गरेपछि प्राप्त गरेको फ्रिकिकलाई थापाले सुन्दर गोलमा परिणत गरेका थिए ।

खेलको ३९ औं मिनेटमा फ्युचरका अमृत्त शर्माले टिमको लागि चौथो र आफ्नो लागि दोस्रो गोल गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गर्नुभएको थियो । उहाँले खेलकुदले विद्यार्थी र खेलाडीहरुलाई अुशासन र प्रतिस्पर्धात्मक सोचको विकास गराउन सहयोग पुग्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी र फ्युचर ब्राइटर माध्यमिक विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष एवं चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत प्रतियोगिताका संयोजक जीवन रोका क्षेत्री र संचालन सहसचिव सुरेश विकले गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगितामा बागलुङ जिल्लाका ९ विद्यालयका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन शुक्रबार चार खेल हुने प्रतियोगिता संयोजक क्षेत्रीले बताए ।

शुक्रबारको पहिलो खेल अमर आदर्श आवासिय माध्यमिक विद्यालय र विद्यामन्दिर माध्यमिक विद्यालय, दोस्रो खेल गणेश माध्यमिक विद्यालय र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो), तेस्रो खेल न्यू ओयसिस एकेडेमी र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल विचहुनेछ भने चौथो खेल फ्युचर ब्राइटर माध्यमिक विद्यालय र मुलपानी माध्यमिक विद्यालय विच हुने प्रतियोगिता संयोजक क्षेत्रीले जानकारी दिए ।

फागनु १३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *