जैमिनीको सर्कुवामा सार्वजनिक सुनुवाई


आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा पालिका स्तरीय दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सर्कुवामा मंगलरबा सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि जैमिनी नगरपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाईको भएको हो ।

सार्वजनिक सुनुवाईमा हाल सम्म नगरपलिकामा चालु आर्थिक वर्षमा सञ्चालित ४१२ योजना फरफारक गरिसकेको, चालु तर्फ रु. ५१ करोड बजेटमा रु. २३ करोड खर्च भएको, पूँजीगत बजेट तर्फ रु.२३ करोड मध्ये रु.७ करोड ५० लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेलले जानकारी दिनुभयो ।
समग्रमा नगरपालिकाको कुल बजेटमा हाल सम्म ४१ प्रतिश बजेट खर्च भइसकेको उहाँको भनाई छ ।


सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका शिक्षकको दरबन्दी मिलान नगरेको, बाँदर आतंकले उठिबास लगाएको, खानेपानीको समस्या भएको, योजना छनौटमा एकरुपता नभएको, टुक्रे योजना ल्याएको, विकासका नाममा सडकले बिनास ल्याएको लगायतका गुनासो नागरिकबाट उठेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय होमनाथ पौडेल, पूर्व गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, प्रभाकर पौडेल, तिल प्रसाद शर्मा लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

उनिहरुले नगरपालिकाले सहकारीको नियमन गर्न, खानेपानीको दीर्घकालिन योजना ल्याउन, सडक सुधार गर्न, बाँदर नियन्त्रण गर्न र विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी थप गर्न माग राख्नु भएको थियो ।



कार्यक्रममा जनताको गुनासो चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेल तथा विषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । जनताको प्रश्नको जवाफ दिदैै नगरप्रमुख नर बहादुर पुनले जनताको नगरपालिका प्रतिको अपेक्षा बाहिर ल्याउनका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउदै जनतालाई नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रम बुझाउन आवश्यक रहेको बताउनुभएको छ ।

नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई काम प्रति थप जिम्मेबार बनाउने र आगमी दिनमा सुधार गर्न सकिने बताउनुभयो । उहाँले अघिल्लो सार्वजनिक सुनुवाई मा उठेका जनताको प्रश्नको हल गर्ने आफूले प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख हरीहर शर्माले नगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाउन थालिएको बताउनुभयो । उहाँले अनुगमनका सबै संयन्त्र परिचालन गरिएको बताउदै नागरिकको प्रश्नले थप जिम्मेबार बनाउने भन्दै सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवासले टिप्पणी गर्नुभएको थियो । पत्रकार नवराज परियारले सार्वजनिक सुनुवाईको आचार संहिताको विषयमा जानकारी गराउनु भएको थियो भने पत्रकार डम्मर बुढा मगरले नागरिकको सन्तुष्टी सर्वेक्षण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम जैमिनी नगरपालिका–२ का वडा अध्यक्ष तथा शुसासन समितिका संयोजक प्रेम सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानाको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *