आदर्श अनलाइन, बागलुङ
बागलुङ सदरमुकाम रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले बुधबारदेखि स्मार्ट टिभिमार्फत अध्ययन अध्यापन गर्न थालेको छ ।
विद्यालयले प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई स्मार्ट टिभिमार्फत पढाउने भएको छ ।
पुरस्कार वितरण एवम् अभिभावक अभिमुखीकरण कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले प्रविधिमैत्री स्मार्ट टिभीको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन पछि बोल्दै पोख्रेलले प्रविधिमैत्री ढंगले अध्ययन अध्यापन गराउदा गुणस्तरीय शिक्षाको विकास हुने बताउनुभएको छ ।
“हाम्रो शिक्षा प्रविधिमैत्री मात्र बनाएर नपुग्ने हुँदा व्यवहारिक बनाउन जरुरी भएको छ, स्मार्ट टिभिले विद्यार्थीको अध्ययन गर्ने बानीको विकास गर्ने छ”नगर शिक्षा अधिकारी पोखरेलले भन्नुभयो “हामीले विद्यार्थीलाइ नैतिक शिक्षा दिएर समाजमा कसरी टिक्ने, कसरी भिज्ने भन्ने कुरा सिकाउन आवश्यक छ ।”
बागलुङ नगरपालिका वडा नम्बर–३ मा रहेको आदर्श बिद्यामन्दिर माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८० सालमा सञ्चालित अतिरिक्त क्रियाकलाप परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने आयोजित कार्यक्रम फरक ढंगले सञ्चालन गरी सम्बन्धित अभिभावक बाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सनि केसी लक्ष्मण, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, अभिभावक बेद प्रसाद कँडेल लगायतले विद्यालयले समय अनुसार सूचना र प्रविधिलाई जोडेर प्रविधिमैत्री स्मार्ट टिभीको माध्यम बाट पढाउनु सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रम आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र के.सीको अध्यक्षता, सूर्य बहादुर महतको स्वागत तथा शिक्षक धन बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।