आदर्श अनलाइन, बागलुङ
दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिको लागि बागलुङ सुधार केन्द्र र श्रीमेहर गण आज भिड्दै छन् ।
बिहिबार सम्पन्न सेमिफाइनल खेलमा बागलुङ सुधार केन्द्रले रुद्रेपिपल युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सुधार केन्द्रको लागि विदेशी खेलाडी साम्बो ओस्कारले पहिलो गोल गरेका थिए । खेलको ४७ औं मिनेटमा आशिष केसीले प्रहार गरेको फ्रिकिक बललाई ओस्कारले गोलमा परिणत गरेका थिए ।
रुद्रेपिपलका अविशेक गुरुङले खेलको ५७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । गुरुङले डिबक्स भित्र सुधार केन्द्रका गोलरक्षक सहित दुई डिफेन्डरलाई विट गरेर सुन्दर गोल गरेका थिए । खेलको ८० औं मिनेटमा बरदान निउरे गोल गर्दै बागलुङ सुधार केन्द्रलाई फाइनलमा स्थान पक्का गराए । साम्बो ओस्कारको पासलाई निउरेले सुन्दर गोलमा परिणत गरेका थिए ।
यस्तै साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणले फाइनलमा स्थान पक्का गरेको छ । दोस्रो सेमिफाइनल खेलमा श्री मेहर गणले आदर्श स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गणको लागि खेलको दोस्रो मिटेमा प्रकाश निरौलाले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको १९ औं मिनेटमा आदर्शका सुरेन्द्र गुरुङले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । खेलको ७९ औं मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहर गणको फाइनल यात्रा पक्का गरे । खेलको ४५ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका चौधारीले सुन्दर गोल गर्दै गणलाई दोस्रो संकरणमा पनि फाइनलमा पु¥याए ।
प्रतियोगिताको फाइनलखेलपूर्व श्रीमेहर गण र बागलुङ सुधार केन्द्रको संयोक्त पत्रकार सम्मेलन सम्पन्न गरिएको बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले बताउनुभयो । पत्रकार सम्मलेनमा श्रीमेहर गण र बागलुङ सुधार खेन्द्रका टिम प्रशिक्षक र कप्तानले दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि जित्ने आ–आफ्नै दाबी गरेका थिए ।
उनिहरुले हाल सम्मको अनुभवलाई आज मैदानमा उतार्ने बताएका थिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले बताउनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।