कृषि क्षेत्रको अनुदान सहकारीमार्फत वितरण गर्न जिल्ला कृषि संघको माग


आदर्शअनलाइन, बागलुङ

जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङले कृषि क्षेत्रमा परिचालन हुने अनुदानको रकम वितरण गर्दा संघसंग समन्वय गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

जिल्ला कृषि सहकारी संघमा आवद्ध कृषि सहकारीहरुको संस्थागत विकास लगायत सहकार्यमार्फत अगाडि बढ्ने विषयमा छलफल गर्न मंगलवार आयोजित कार्यक्रमका सहभागीहरुले अनुदान वितरणमा संघ संग समन्वय गर्न आग्रह गरेका हुन् ।

राज्यका विभिन्न निकायबाट कृषि क्षेत्रमा परिचालन हुने अनुदानको प्रभावकारिताका विषयमा प्रश्न उठ्ने गरेको छ, जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभा सदस्य नर बहादुर थापाले भन्नुभयो,–अनुदानको रकमलाई लक्षित वर्गमा पु¥याउन तथा प्रभावकारी परिचालनका लागि सहयोग गर्नका लागि संघसंग सहकार्यको प्रस्ताव गरेका हौ ।

स्थानीय स्तरमा उत्पादन वृद्धि हुदै गए पनि बजारीकरणमा समस्या देखिएकाले उत्पादकहरुको लागत उठ्न सकेको छैन, सरोकारवालाहरु सबै मिलेर उत्पादकलाई राम्रो मूल्य र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने गरी काम गर्नका लागि जिल्ला कृषि सहकारी संघ सबैसंग समन्वय गर्न तयार रहेको थापाले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बजारीकरणको प्रभावकारी व्यवस्थापन हुन नसक्दा उपभोक्ताले बढी मूल्य तिर्नु पर्ने र उत्पादकले कम मूल्य पाउने अवस्था रहेको बताउनुभयो । उत्पादकलाई लागत अनुसारको मूल्य र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनका लागि उत्पादकहरुलाई नै बजारीकरणमा सहभागी गराउनु पर्नेमा जिसीको जोड थियो ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले स्थानीय उत्पादनलाई वृद्धि गर्दै बजारीकरणमा सहकारी र निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनुभयो । उत्पादन बढे पनि बजारीकरणको व्यवस्थापन नहुदा कृषकहरु मर्कामा पर्ने अवस्था रहेको भन्दै उहाँले सबै मिलेर उत्पादन बढाउन तथा उत्पादित वस्तुको प्रभावकारी बजारीकरण गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकारहरु, विभिन्न सहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कृषि सहकारीका सदस्यहरुलाई उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्ने, कृषि सहकारी संस्थाहरुले उत्पादित वस्तु संकलन र भण्डारण गर्ने तथा जिल्ला कृषि सहकारी संघले बजारीकरण र प्रशोधनको कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका गण्डकी प्रदेश प्रमुख भूमिराज भण्डारीले कम्पनीले कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम र सहकार्य गर्न सकिने विषयहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कृषि सहकारी संघसंग सहकार्य गरी स्थानीय स्तरमा उत्पादन वृद्धि र बजारीकरणका लागि समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रम जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मणीभद्र शर्माको स्वागत र सचिव गंगा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *