आदर्श अनलाइन, बागलुङ
बागलुङमा ६७ औं राष्ट्रिय सहकारी दिवस स्थानीय सरकार र अभियानबीच सहकार्य गरेर मनाइने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लाका १० वटै पालिकाहरुसंग समन्वय गरेर दिवस मनाउने निर्णय गरेको हो । संघको शुक्रवार बसेको वैठकले चैत १७ गतेदेखि २० गतेसम्म जिल्लाका विभिन्न ५ ठाउँमा सहकारी दिवस सम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
दिवस मनाउनका लागि संघले बागलुङ नगरपालिकासंग शुक्रवार नै वैठक बसेर ३ दिनसम्म बागलुङ नगरपालिकासंगको सहकार्यमा बागलुङ बजारमा र अन्य पालिकाहरुसंग समन्वय गरेर बुर्तिबाङ बजार, गलकोट, कुश्मीसेरा र काठेखोलाको विहुमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।
सहकारी दिवसलाई सन्देश प्रवाह गर्ने, सचेतना प्रदान गर्ने तथा दवावमुलक रुपमा समेत मनाउने सोचका साथ सबै पालिकामा रहेका सहकारी संघ संस्थाहरु, पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा प्रमुखहरु समेतको सहभागितामा सहकारीको समसामयिक अवस्था र सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष जिसीले बताउनु भयो । जिल्ला सहकारी संघको आयोजना तथा अन्य सबै विषयगत सहकारी संघहरुको संयोजन र पालिकाहरुको सहयोगमा चैत १७ देखि २० गतेसम्म विविध कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
दिवसका अवसरमा १७ गते ढोरपाटन नगरपालिका, निशीखोला गाउँपालिका र तमानखोला गाउँपालिका भित्रका सहकारी संघ संस्थाका अध्यक्ष, सचिव र प्रवन्धकहरु तथा तिन वटै पालिकाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु र सहकारी शाखा प्रमुखहरु समेतको उपस्थितिमा बुर्तिबाङ बजारमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो । बुर्तिबाङमा हुने कार्यक्रमका लागि बहुउद्देश्यीय सहकारी संघ र स्वास्थ्य सहकारी संघलाई संयोजनको जिम्मेवारी तोकिएको छ । जिल्ला सहकारी संघको तर्फबाट सञ्चालक जगन्नाथ सापकोटालाई कार्यक्रमको समग्र संयोजनको जिम्मा दिइएको छ ।
यस्तै चैत १८ गते गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिका भित्रका सहकारी संघ संस्थाका अध्यक्ष, सचिव र प्रवन्धकहरु तथा तिनवटै पालिकाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु र सहकारी शाखाका प्रमुखहरु समेतको उपस्थितिमा हटिया बजारमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । उक्त कार्यक्रमको संयोजन जिल्ला वचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी संघको तर्फबाट संघका सञ्चालक शिवा कुमारी खत्रीले संयोजन गर्ने जनाइएको छ ।
चैत १८ गते नै जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाको आयोजना एवम् सूचना तथा सञ्चार सहकारी संघ बागलुङको संयोजनमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । जिल्ला सहकारी संघका सञ्चालक एवम् सूचना तथा सञ्चार सहकारी संघका अध्यक्ष खिम बहादुर कार्कीले उक्त कार्यक्रमको संयोजन गर्ने संघले जनाएको छ ।
चैत १९ गते बिहान जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको आयोजना तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघको संयोजनमा मानव सेवा आश्रममा दुध वितरण गर्ने र उक्त कार्यक्रमको संयोजन बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले गर्ने जनाइएको छ ।
चैत १९ गते नै जैमिनी नगरपालिका र बरेङ गाउँपालिका भित्रका सहकारी संघ संस्थाका अध्यक्ष, सचिव र प्रवन्धकहरु तथा दुवै पालिकाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतह र सहकारी शाखाका प्रमुखहरु समेतको उपस्थितिमा कुश्मिसेरा बजारमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । उक्त कार्यक्रमको संयोजन जिल्ला कृषि सहकारी संघ र जिल्ला तरकारी तथा फलफूल सहकारी संघले गर्ने भएका छन् । कुश्मीसेरामा हुने कार्यक्रममा जिल्ला सहकारी संघको तर्फबाट संघका सञ्चालक खीम बहादुर कार्कीले संयोजन गर्ने जनाइएको छ ।
चैत २० गते काठेखोला गाउँपालिका भित्रका सहकारी संघ संस्थाका अध्यक्ष, सचिव र प्रवन्धकहरु, पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सहकारी शाखाका प्रमुख सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, उक्त कार्यक्रमको संयोजन सूचना तथा सञ्चार सहकारी संघ र जिल्ला सहकारी संघको तर्फबाट सञ्चालक बृहस्पती कंडेलले गर्ने निर्णय भएको संघले जनाएको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवसको मुख्य दिन चैत २० गते बिहान जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाको आयोजना तथा सबै विषयगत सहकारी संघहरुको सहयोगमा ¥याली सहित मुख्य समारोह आयोजना गरिएको छ । बागलुङ नगरपालिका भित्रका सबै सहकारीहरुलाई ब्यानर सहित उक्त कार्यक्रममा सहभागिताका लागि आव्हान गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लाका सबै ठाउमा आयोजना गरिएका कार्यक्रमहरुमा प्राविधिक सहयोग राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले गर्ने संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लाका केही सहकारीहरुमा देखिएको समस्याका कारण समग्र सहकारी क्षेत्र प्रति अविश्वास बढ्दै गएको सन्दर्भमा सहकारीप्रति आम समुदायको विश्वास बढाउन तथा सहकारीहरुलाई समय सापेक्ष सदस्यहरुको आवश्यकता र चाहना अनुसार अगाडि बढाउनका लागि दिवसका कार्यक्रमले सहयोग गर्ने अपेक्षा लिइएको संघका अध्यक्ष जिसीले बताउनुभयो ।
२०१३ साल चैत २० गते चितवनबाट सहकारीको शुरुवात भएको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउदै आइएको छ । सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि सहकारीमा सुशासन ः प्रविधि र एकीकरण भन्ने थीम अगाडि बढाएको छ । महासंघको आव्हानमा देशभरका सहकारी संघ संस्था र नेपाल सरकारको आव्हानमा सबै तहका सरकारहरुले सहकारी दिवस सम्बन्धी विविध कार्यक्रमहरु गरेर दिवस मनाउदै आएका छन् ।
जिल्ला सहकारी संघ बागलुङले जिल्लाका १० वटै पालिकाहरु, सबै विषयगत सहकारी संघहरु र जिल्लामा क्रियाशिल सबै सहकारी संघ संस्थाहरुलाई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी सहकारी दिवस मनाउन आव्हान गरेको संघका सचिव शर्माले जानकारी दिनुभयो ।