पश्चिम बागलुङका सहकारीकर्मीहरुको गुनासो : स्थानीय तहले सहकारीको पर्बद्धनमा ध्यान दिएनन्


आदर्श अनलाइन, बागलुङ

जिल्लाको पश्चिमका तीन वटा पालिकाका सहकारीकर्मीहरुले स्थानीय सरकारलाई समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीको प्रवद्र्धनमा योगदान गर्न आव्हान गरेका छन । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शनिवार ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजना गरेको सहकारीको समसामयिक अवस्था र स्थानीय तहको भूमिका विषयक अन्तरक्रियामा सहभागी सहकारीकर्मीहरुले यस्तो बताएका हुन् ।

ढोरपाटन नगरपालिका, निशीखोला गाउपालिका र तमानखोला गाउपालिकामा सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुले सहकारीको प्रवद्र्धन, अनुगमन र नियमन गर्ने अधिकार रहेको स्थानीय तहले कुनै पनि काममा चासो नदेखाएको भन्दै सहकारीको प्रवद्र्धनमा योगदान गर्न आव्हान गरेका हुन् ।

सहकारी समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको माध्यम हो, सहकारीले ग्रामिण क्षेत्रका जनतालाई वित्तीय साक्षरताका साथै समुहमा काम गर्ने, सामाजिक पूँजि निर्माण गर्ने लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेका छन्, संघीय संरचना अनुसार स्थानीय तहलाई सहकारीको प्रवद्र्धन तथा विकासका लागि थुप्रै जिम्मेवारी भए पनि धेरै पालिकाहरुको प्राथमिकतामा सहकारी पर्न नसकेको सहभागीहरुको गुनासो थियो ।

कार्यक्रममा तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले समुदायमा पूँजि निर्माण र परिचालनका लागि सहकारीको योगदान महत्वपूर्ण छ, सहकारीलाई प्रभावकारी बनाउन सक्दा समुदायको आर्थिक सामाजिक विकासमा थप योगदान गर्न सकिने बताउनुभयो । पछिल्लो समय सहकारीको मर्म, भावना र सिद्धान्त विपरित काम गरेका केही सहकारीहरुका कारण सिंगो सहकारी अभियानलाई नै बद्नाम गर्ने काम भएको भन्दै उहाँले सबै मिलेर सहकारीको यथार्थ अवस्थाका बारेमा जनतालाई बुझाउनु पर्नेमा जोड दिनुभयो ।

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले स्थानीय तहले सहकारीको प्रवद्र्धनमा योगदान गर्न नसक्नुको मुख्य कारण सहकारी प्राथमिकतामा नपर्नु र जनशक्तिको व्यवस्थापन हुन नसक्नु भएको बताउनुभयो । कर्मचारी थोरै छन्, धेरै काम गर्न पर्छ, सहकारी कार्यपालिकाहरुको प्राथमिकतामा नपरेका कारण काम भएन, सहकारीकर्मीहरुलाई समय समयमा ध्यानाकर्षण गराउन आव्हान गर्दै उहाँले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य लोकेन्द्र निरासीले स्थानीय तहमा सहकारीको छुट्टै डेक्स स्थापना गरी प्रवद्र्धनको काममा ध्यान दिन सकेमा सहकारीमार्फत स्थानीय जनताको आर्थिक अवस्थामा सुधार ल्याउन र सामाजिक रुपान्तरणमा योगदान गर्न सकिने बताउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूुिमका विषयमासहजीकरण गर्नु भएको थियो । उहाँले स्थानीय अर्थतन्त्रको विकासमा सहकारीको भूमिका र सहकारी अभियानको विकासमा स्थानीय तहको भूमिका बढाउनका लागि सहकारी अभियान र स्थानीय सरकारका बीचमा समन्वयकारी भूमिका हुनु पर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, सचिव तेज प्रसाद शर्माको सञ्चालन र त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम महतको स्वागतमा सम्पन्न कार्यक्रममा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा सञ्चालनमा रहेका सहकारी संस्थाका ७० जना सहकारीकर्मीहरुको सहभागिता रहेको जिल्ला सहकारी संघका सञ्चालक खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

सहकारी दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नका लागि त्रिवेणी वचत तथा ऋण सहकारी संस्था, बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्था, जनसञ्चार सहकारी संस्था, मखमली बचत तथा ऋण सहकारी संस्था र खुंगा ढोरपाटन बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको जिल्ला सहकारी संघ बागलुङका सञ्चालक तथा कार्यक्रम संयोजक जगन्नाथ सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *