निसीखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई देविस्थानमा


आदर्श अनलाइन, बागलुङ

निसीखोला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक सार्वजनिक सुवुवाई कार्यक्रम देविस्थानमा सम्पन्न भएको छ । निसीखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रा.लि.को सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नागरिकले जनप्रतिनिधिहरुलाई स्थानीय सुशासनमा जोड दिन आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार चन्दले चालु आर्थिक वर्ष २०८०/०८१ को चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पालिकाले अहिलेसम्म बजेटको प्रयोग र कार्यसम्पादनमा पालिकाले ४२ प्रतिशत प्रगति गरेको प्रतिवेदनले देखाएको छ भने विनियोजित बजेट कुल ५० करोड ७२ लाख ५८ हजार ३ सय ९ रुपैयाँ मध्ये पुँजीगततर्फ अहिलेसम्म ३२ प्रतिशत मात्र रकम खर्च गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा १८ जना नागरिकहरुले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताको विभिन्न विषयमा प्रश्नहरु गरेका थिए भने केही महत्वपूर्ण सुझावहरु समेत दिएका छन् ।

कार्यक्रममा महिला संजालकी उपाध्यक्ष भोटु कुमारी चन्द, नेकपा माओवादी केन्द्र वडा नं. ५ का अध्यक्ष हिरा बहादुर पुन, स्वास्थ्यकर्मी हुमलाल रेग्मी, थम बहादुर घर्ती, नेकपा एमाले जिल्ला सदस्य लिला बहादुर बुढा, एमाले वडा नंं.३ का अध्यक्ष दिपक बहादुर चन्द, मन प्रसाद आचार्य, ओम बहादुर पुन, पूर्ण बहादुर खत्री, भरत पुन मगर, दलित संजाल वडा नं. १ का अध्यक्ष शिब वि.क., नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भूमिराज घर्ती मगर, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रुद्र प्रसाद पौडेल, राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ कमिटी अध्यक्ष थम्मन घर्ती मगर, एमाले जिल्ला सदस्य मिलन हमाल, अनुप बुढामगर, शिक्षक थान बहादुर नेपाली, बिमल शाही लगायतले विभिन्न विषयमा प्रश्नहरु गर्नुभएको थियो भने निसीखोला गाउँपालिकामा सुशासन कायम गर्न विभिन्न सुझाबहरु समेत पेश गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकर्ता नागरिकहरुले सबैभन्दा बढी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, मोटरबाटो, झोलुङ्गे पुल, विकास निर्माण तथा योजना, राजश्व तथा कर असुली, कर्मचारी व्यवस्थापन, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रको अतिक्रमण, खेलकुद, नागरिकको सेवा प्रवाह लगायतका विषयमा प्रश्नहरु गरेका थिए ।

कार्यक्रममा पालिकाको विनियोजित बजेटको प्रभावकारिता कम रहेको, लक्षित वर्गको कार्यक्रमको प्रभावकारिता कम भएको, विभिन्न योजनाका प्राविधिक स्टेमेटमा उपभोक्ता समितिले सास्ती भोग्नु परेको, झिम्पामा निर्माणाधीन हस्पिटल संचालनमा ढिलाइ भएको, बोहरागाउँ स्वास्थ्य चौकीमा कर्मचारीको अभाव भएको, स्वास्थ्य इकाईहरुमा आवश्यकताको आधारमा कर्मचारी दरबन्दी नराखिएको, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको, अध्यक्ष कप खेलकुद कार्यक्रम प्रभावकारी नभएको, कृषकलाई दिइने अनुदानमा केही पहुँच भएकाहरुले मात्र अनुदान पाउने गरेको, अर्नाकोट उपल्लो बेङ्ग्रीमा लामो समयसम्म खानेपानीको समस्या रहेको, जिरी थापागाउँ मोटरबाटो अलपत्र परेको, पालिकामा एम्बुलेन्स र चालक अलग अलग रहँदा विरामीले सेवा पाउन नसकेको, लामो समयसम्म पालिकाको शिक्षा समितिले पूर्णता पाउन नसकेको, शिक्षक सरुवा र व्यवस्थापन प्रभावकारी हुन नसकेको, वडा नं. ६ को कोस्का भन्ने स्थानको राष्ट्रिय बन क्षेत्र स्थानीय पहुँचवाला व्यक्तिहरुले अतिक्रमण गरी बन सम्पदा विनाश गर्दा पनि पालिका र जनप्रतिनिधि मुकदर्शक बनेको भन्दै विभिन्न सवालमा प्रश्नकर्ताहरुले प्रश्न गरेका थिए ।

त्यसैगरी प्रश्नकर्ताहरुले पालिकाले स्वास्थ्य इकाईहरु स्थापना गरी विरामीलाई सेवा प्रवाह गरेको, विद्यालयहरुमा आईसीटी व्यवस्थापन तथा इन्टरनेट जडान गर्नु, शिक्षा क्षेत्रमा बजेट वृद्धि गरी सिकाइ सहजीकरणमा महत्वपूर्ण भूमिका खेलेको जस्ता पक्षहरु सकारात्मक र सराहणीय काम भएको बताएका थिए ।

प्रश्नकर्ताहरुले उठाएका विभिन्न प्रश्नहरुमाथि निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर, उपाध्यक्ष प्रेम बहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार चन्द, विभिन्न वडाका वडाअध्यक्षहरु, पालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख लगायतले स्पष्ट रुपमा जवाफ दिनुभएको थियो । साथै उहाँहरुले समृद्ध निसीखोला गाउँपालिकाको लागि पालिकाको सिङ्गो टिम लागिरहेको र आम सचेत नागरिकको चासो, चिन्तन र सहयोगको पनि खाँचो रहेको बताउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा निसीखोला गाउँपालिको तर्फबाट प्रश्नकर्ताको साझा सवालहरुलाई संवोधन गर्दै निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्तीले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझे बलियो बनाउँन र नागरिको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आफूहरु निरन्तर लागिरहने भन्दै प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने प्रश्नकर्तालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले कार्यक्रममाथि टिप्पणी गर्दै जीवीत समाजमा शासन व्यवस्थाप्रति नागरिकहरुले प्रश्न गर्न पाउनु नैसर्गिक अधिकार भएको भन्दै यस प्रकारको कार्यक्रमले पालिकाको सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझै बलियो बनाउन सहयोग पुराउने बताउनु भयो । साथै उहाँले पालिकाले स्थानीय उद्योगको विस्तार, पर्यटन विकास, स्रोत साधनको व्यवस्थापन, स्थानीय उत्पादनमा जोड दिनुपर्ने जस्ता विषयहरुमा सुझाउनु भएको थियो ।

कार्यक्रममा नागरिक दैनिकका पत्रकार संगम घर्ती मगरले नागरिक सन्तुष्टि फारम भरी नमूना सर्वेक्षणबाट प्राप्त पालिकाको अवस्था र सूचकहरुबारे प्रस्तुत गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य लोकेन्द्र सुनारले सार्वजनिक सुनुवाई कार्यक्रमको कानुनी पक्ष र आचारसंहिताबारे प्रस्तुत गर्नुभएको थियो ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार डम्मर बुढाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *