निसीखोलाका असला माछा संकटमा

आदर्श अनलाइन, बागलुङ
अबैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा संकटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैर कानूनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको छ । माछा लोप हुनथालेपछि स्थानीयको माछा मार्ने पेशा समेत संकटमा परेको छ ।

बागलुङको निसीखोला गाउँपालिका–२ देबिस्थान निवासी राम बहादुर पुनले १० वर्ष निसीखोलाका माछा मारेर जीवन गुजारा गर्नुभयो । उहाँले घर नजिकै बग्ने निसीखोलामा माछा मारेर जिवन गुजारा चलाउदै आउनुभएको भएकोमा अहिले निसीखोलामा माछा उत्पादनमा कमि आएपछि दुबै हिड्ने तरखरमा हुनुहुन्छ । निसीखोलामा पाइने स्थानीय प्रजातीका असला माछा मार्ने, माछा मार्ने जाल बुनेर बिक्रि गर्ने कार्य गर्दै आएकोमा माछा उत्पादनमा कमि आएपछि बैदेशिक रोजागरीमा जान थालेको पुनले बताउनुभयो ।

“अहिले खोलामा विष हाल्ने काम बन्द भएपनि करेन्ट लगाउदा यहाँका स्थानीय प्रजातीको असला माछा लोप हुँन थालेको पाइयो” पुनले भन्नुभयो “माछा मारेरै जिविका पाल्ने विस्थापित हुँदैछन्, करेन्ट लगाएर माछा मार्दा माछा उत्पादन घट्ने र आगमी दिनमा माछा लोप भएर जाने अवस्था छ ।”

१० वर्ष माछा मार्दै आएको म जस्ता युवा पुस्ता विदेश जानुपर्ने बाध्यता परेको उहाँले सुनाउनुभयो । अहिले दिनभर खोलामा जाल हान्न गएपनि साँझ रित्तो हात फर्कनुपर्ने अवस्था छ । पुनले रातको समयमा बुर्तिबाङबाट आएर निसीखोलामा करेन्ट लगाएर माछा मार्दा माछाको भु्रण समेत मर्ने भएकाले माछा लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

जाल थापेर स्थानीयले माछा मार्दै आएपनि टाढा–टाढाबाट रातको समयमा आएर विष र करेन्ट लगाउदा माछा उत्पादनमा भारी गिरावट आएको निसीखोलाका स्थानीयले गुनासो गर्दै आएका छन् । निसीखोलाको असला माछा निकै स्वादिष्ट हुनेभएकाले चोरी सिकारी बढ्न थालेको स्थानीय भरत पुन मगरले बताउनुभएको छ । निसीखोलाको माछा संरक्षणमा स्थानीय पालिकाले चासो नदिएको पुन मगरको गुनासो रहेको छ ।

“गाउँपालिकाले असला माछा संरक्षणमा जोड दिन आवश्यक रहेको छ, यहाँका स्थानीयले जाल हानेर माछा मारेर जिविको पार्जन गर्दै आएका छन्, उनिहरुको रोजीरोटी गुम्दै आएको छ” स्थानीय पुनले भन्नुभयो “गाउँपालिकाले करेन्ट लगाएर माछा मार्ने कार्यलाई पूर्ण रुपमा निषेध गर्न जरुरी छ, निसीखोला गाउँपालिकाका असला माछा संरक्षण गरेर यहाँका स्थानीले पहिचानको रुपमा लिन आवश्यक छ ।”

निसीखोला गाउँपालिकामा अवैध रुपमा माछा मार्ने कार्य नरोकिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ती मगरले बताउनुभयो । मगरका अनुसार गाउँपालिकाले निसीखोलाका माछालाई पहिचानका रुपमा लिन थालेर अनुगमनलाई कडाई गर्न थालेको बताउनुभयो ।

“खोलामा अनुगमन गर्न थालेका छौं, प्रहरीलाई समेत निगरानी गर्न भनेका छौं, एक हप्ता अघि करेन्ट लगाएर माछा मार्नेलाई पक्राउ गरेर प्रहरीलाई समेत बुझाएका थियौं” उपाध्यक्ष मगरले भन्नुभयो “आगमी गाउँपालिकाको योजनामा माछा संरक्षणको नीति तथा कार्यक्रम ल्याउने योजनामा छु, स्थानीयको गुनासो समेत आएकाले अबैध माछा मार्नेलाई कडा कार्वाही गछौं ।” निसीखोला र तमानखोलामा पछिल्लो समय माछा उत्पादन घट्न थालेको छ । असला माछाका लागि निसीखोला, दरमखोला, तमानखोला र बडिगाड खोला प्रसिद्ध छ ।

यो पनि पढ्नुहोस्