१३५ औं विश्व मजदुर दिवस मनाइयो


आदर्श सञ्चार, म्याग्दी

म्याग्दीको बेनीमा एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइएको छ । बेनी बजारको बीरेन्द्रचोक देखि निस्केको मजदुरहरुको ¥यालीले बेनी बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर भएको मुल कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)का केन्द्रीय उपमहासचिव नरनाथ लुईटेलले सम्बोधन गर्नुभएको थियो ।

मुल कार्यक्रमको सम्बोधन गर्दै उपमहासचिव लुईटेलले प्रतिफलल, दिगोपन र सुरक्षालाई केन्द्रमा राखेर अगाडी बढ्ने बताउनुभयो । उचित आम्दानी, कामको निरन्तरता र भविष्यको लागि बचत भएन भने कसैको पनि उन्नती नहुने भएकाले यी तीन कामलाई केन्द्रमा राखेर सबै लाग्नु पर्ने उहाँको भनाई थियो । उहाँले काम र उचित ज्याला, स्वच्छकार्यस्थल र कामको निरन्तरता हुनु पर्ने बताउनुभयो ।

हरेक पालिकामा मजदुरहरुको सुचिकरण गर्ने, अनौपचारीक क्षेत्रमा पनि श्रमको उचित मूल्य र व्यवस्थापनका साथै स्थानिय तहलाई कामको केन्द्रका रुपमा विकास गर्नु पर्ने उहाँको तर्क थियो । न्यनतम आयबाट मध्यम आयतिर मजदुरहरुलाई लैजाने र बिपन्नता तोडेर सम्पन्नता तिरको अभियानमा सबैले हातेमालो गर्नु पर्ने उहाँको कथन थियो ।

मजदुरहरुकै अगुवाइमा भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै क्षेत्रका मजदुरलाई समेट्न पर्ने उहाँको तर्क थियो । अधिकांस क्षेत्रले यसलाई कार्यान्वयनको पाटोमा लैजान थालेको भए पनि बैंकिङ क्षेत्रले ऐक्षिक भनेकोले त्यसलाई पनि अनिवार्यगर्नु पर्ने उहाँले बताउनुभयो । मजदुरहरु सबैको भविष्यको ग्यारेन्टी हुनु पर्छ त्यसका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनु पर्ने भएकाले पनि सबैले आफ्नो जिम्मेवारी के भनेर बुझ्दै अगाडी बढ्नु पर्नेमा सचेत गराउनु भएको थियो ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले मुलुकको विकासका लागि मजदुरको योगदान अतुलनीय रहेकोले उनीहरुको हित र सुरक्षामा सबैले प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो । राज्यले पनि मजदुरको सुरक्षाको वारेमा सोच्नु पर्ने बताउँदै श्रमको मुल्य र तोकिएको समयमा पारिश्रमिक पाउने व्यवस्थाका लागि पनि राज्यले नीति बनाएर कार्यान्वयनमा पनि कडाइ गर्नु पर्ने तर्क गर्नुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नीजि क्षेत्रका लागि सबै भन्दा महत्वपूर्ण रहने मजदुरको उचित पारिश्रमिक तथा सुरक्षाको बारेमा ध्यान दिनु पर्ने बताउनुभयो ।

औपचारीक कार्यक्रम भन्दा पहिला नौमती बाजा सहित बेनीको वीरेन्द्रचोकबाट सुरु भएको ¥यालीले मजदुर हितका विषयमा नारा लगाउँदै मंगलाघाट, न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को आयोजनामा आयोजित मुल कार्यक्र भन्दा पहिलाको ¥यालीमा मजदुरहरूले श्रमिकको पेसागत मर्यादा, सम्मानको प्रत्याभूति र राज्यका निकायहरूमा प्रतिनिधित्वको माग लगायतका नारा लगाएका छन् ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइएको हो । हाल सम्म भएका जातिय तथा धार्मिक सहभागिताले मात्रै मुलुकको उन्नती नहुने भएकाले बर्गिय सहभागितालाई मुख्य रुपमा उठाउनु पर्ने अधिकांश वक्ताहरुले धारणा राखेका थिए ।

जिफण्ट म्याग्दीका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन रानाले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, सामुदायिक सेवा प्रहरीकी अध्यक्ष पशुपति शाही, मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ बिटालु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *