ट्राफिक सप्ताहको पाँचौ दिन चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

रोहन जि.सी, बागलुङ

बागलुङ जिल्लामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा सवारी चालक र सह–चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

सप्ताहको पाँचौ दिन सवारी चालक र सह–चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेले बताउनुभयो ।

बागलुङ सदरमुकामबाट छुट्ने लामो दुरीका चालक तथा सहचालक गरी ५३ जनाको सुगर, प्रेसर, कान र आँखा निःशुल्क जाँच गरिएको बताउनुभयो ।

शिविरमा सिदार्थ चश्मा तथा अप्टिकलले आँखा र सफल पोलिक्लिनिकले सुगर तथा प्रेसर जाँच गर्न समन्वय गरेको निउरेले बताउनुभयो ।

समस्या देखिएका चालक र सहचालकलाई तत्काल औषधी सेवन गर्न तथा नियमित स्वास्थ्य जाँच गराइराख्न सुझाव दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ट्राफिक सप्ताह अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

चालकसँग स्वास्थ्य परीक्षण गर्ने समय कम हुने भएकाले उनीहरूलाई स्वास्थ्य बारे सजग गराउन यो कार्यक्रम आयोजना गरिएको थियो ।

चालकको स्वास्थ्य परिक्षण, चालक परिचालन प्रशिक्षण, सवारी साधनको अनुगमन, तिब्रगति नियन्त्रण र ओभरटेक, भाडा अनुगमन, आरक्षण सिट कार्यान्वयन, सशस्त्र प्रहरीलाई कक्षा, चालक परिचालकले प्रयोग गर्ने पोशाक लगायतका कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ट्राफिक सप्ताह अन्तर्गत बागलुङको सदरमुकाम, हटिया, बुर्तिबाङ, अक्षते, कुश्मीसेरा र बरेङ लगायत विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको निउरेले जानकारी दिनुभयो ।

ट्राफिक सप्ताहको छैठौं दिन बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि रक्तदान कार्यक्रम र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारसंग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका ब्यक्तिको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *