आदर्श अनलाइन, बागलुङ
मानवअधिकार दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला निर्देशन समन्वय समिति बागलुङको वैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तहमा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयनका सम्बन्धमा कार्ययोजनामा भएका व्यवस्थाको बारेमा छलफल गरिएको थियो ।
दोस्रो राष्ट्रिय कार्यायोजना कार्यान्वयनका जिल्लाका ४ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । बागलुङ जिल्लाका कुनैपनि स्थानीय तहमा हालसम्म समिति गठन नगरेको पाइएपछि यथाशिघ्र गठन गरी जिल्ला निर्देशक समितिमा जानकारी पठाउन अनुरोध गरिएको छ ।
वैठकमा बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दोस्रो राष्ट्रिय कार्यायोजनाको कार्यान्वयनका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
बरालले द्वन्दका कारण यौनजन्य हिंसाबाट प्रभावित महिला र बालिकाको विशेष आवश्यकतानुसार स्वास्थ्य सेवाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड् दिनु भएको थियो ।
द्वन्द प्रभावित महिला र बालिका तथा उनीहरुका परिवारका सदस्यका लागि मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्ने, महिला र बालिकाका विच अन्तरपुस्ता संवाद कार्यक्रम सञ्चालन गर्नुपर्ने लगाएतका विषयमा जोड् दिनु भएको थियो ।
द्वन्द तथा यौनजन्य हिंसाबाट प्रभावित महिलाको आवश्यकता पहिचान गरी दीर्घकालिन तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको थियो । बैठकमा बोल्दै बढिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले कार्ययोजना कार्यान्वयनका लागि तत्काल समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला निर्देशन समन्वय समिति बागलुङका अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन समन्वय अधिकारी कृष्णराज गौतमको सहजिकरणमा सम्पन्न भएको थियो ।