आदर्श अनलाइन, म्याग्दी
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा शनिबार ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन् हुने भएको छ । उद्घाटनको दिनमा दुई खेल हुने जिल्ला क्रिकेट संघ म्याग्दीले जनाएको छ ।
जिल्ला क्रिकेट संघ म्याग्दीको आयोजनामा हुने क्रिकेट प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका चार टिमको सहभागिता रहने छ । प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दी क्रिकेट क्लब, रत्नेचौर क्रिकेट समूह र बगरफाँट क्रिकेट क्लबले सहभागिता जनाउने क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविन पौडेलले जानकारी दिनुभयो । जेठ ५ गते शनिबार देखि शुरु हुने उक्त प्रतियोगिता जेठ १२ गते सकिने छ । जेठ ५ गते उद्घाटन सहित दुई खेल हुने र जेठ १० र ११ गते दुई दुई खेल हुने छ । फाइनल खेल भने जेठ १२ गते हुने छ ।
प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने भएकाले हरेक टिमले तीनतीन खेल खेल्ने छन् । लिग समूहको शिर्षस्थानमा रहने दुई टिम बीच जेठ १२ गते फाइनल हुने क्रिकेट संघ म्याग्दीका कोषाध्यक्ष सौरभ किसानले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेलहरु बेनी बजारको खुल्ला मञ्चमा खेलाइने संघले जनाएको छ ।
लामो समय सम्म क्रिकेट प्रतियोगिता नभएको म्याग्दीमा बेनी बजारमै हुने यस प्रतियोगिताले क्रिकेट खेलको प्रभावलाई बढाउने अपेक्षा गरिएको संघका सचिव छवि आचार्यको भनाई छ । यस भन्दा अगाडी २०७४ सालमा न्यू जेनेरेसन क्लबले न्यू जेनेरेसन कप–२०७४ आयोजना गरेको थियो । भारतीय सेनाका सेवा निवृत्त ध्रुव जिसीको अगुवाइमा सुरु भएर लगातार तीन वर्ष सम्म प्रतियोगिता सञ्चालन गरेको न्यू जेनेरेसन क्रिकेट क्लबले २०७४ पछि भने क्रिकेट गतिबिधि बन्द गरेको थियो । त्यस पछि शुन्य प्राय रहेको क्रिकेटलाई माथि उठाउनका लागि यो प्रतियोगिता फलदायी हुनेअपेक्षा गरिएको उहाँको भनाई छ ।
जिल्ला क्रिकेट संघ म्याग्दीले अयोजना गरेको प्रतियोगितामा पहिलो हुनेले १५ हजार नगद र दोश्रो हुनेले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् । साथै प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई विभिन्न विधामा पुरस्कृत गरिने क्रिकेटर भरत धामीले जानकारी दिनुभयो । प्रतियोगितामा अहिले चालु अवस्थामा रहेको इन्डेन प्रिमियर लिग(आइपिएल)मा जस्तै इम्प्याक्ट प्लेयरको समेत व्यवस्था गरिएको उहाँको भनाई छ । उत्कृष्ट बलर, ब्याट्सम्यान, प्लेयर अफ् द म्याच र प्लेयर अफ द सिरिज पनि बितरण गरिने धामीको भनाई छ । खेल तालिका सार्वजनिक भै सकेको र सबै टिम आ–आफ्नो तयारीमा लागेकोले पनि खेल समयमै सुरु हुनुका साथै सम्पन्न हुने उहाँको भनाई छ ।
प्रतियोगिता सञ्चालन गर्नका लागि खेलाडीहरु स्वयंमले नै आर्थिक व्यवस्थापन गरेको हुनाले पुरस्कार राशी कम देखिएको क्रिकेटर दिपक बिकले जानकारी दिनुभयो ।