विद्यालयमा क्याप्टेन चयन गर्न निर्वाचनको अभ्यास

आदर्श अनलाइन, बागलुङ

नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ । त्यस्तै बागलुङको एक विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सिदार्थ शिक्षा सदनमा शुक्रबार निर्वाचनबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।

संसदीय निर्वाचनको झल्को दिने गरी लोकतान्त्रिक पद्धति अनुसार मतदानबाट एक वर्षको लागि विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टनेको छनोट गरेका छन् ।

विद्यालयमा विद्यार्थीहरु विच क्याप्टेन चयन गर्नको लागि समय निर्धारण गरिएपनि केही पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको विद्यालयका प्रधानध्यापक भोजेन्द्र थापाले जानकारी दिनुभयो ।

शिक्षण सिकाई क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनोट गरिएको निर्वाचन कोडिनेटर तथा शिक्षक नगेन्द्र हमालले बताउनुभयो । निर्वाचनबाट कक्षा १० मा अध्ययनरत श्रेया छन्त्यालले १२९ मत प्राप्त गरी विद्यालयको क्याप्टेनमा निर्वाचित भएको निर्वाचन अधिकृत तथा विद्यालयका सह–प्रधानध्यापक प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।

छन्त्यालका निकटतम प्रतिद्वन्द्वी सचिन क्षेत्रीले १ सय ७ मत प्राप्त गर्नुभएको थियो । यस्तै विद्यालयको भाइस क्याप्टेनमा प्रमिसा सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

निर्वाचनमा २३ जना विद्यार्थीहरु विभिन्न पदका उम्मेदवार थिए । निर्वाचनमा कक्षा २ देखि १० सम्मका ३ सय २० जना विद्यार्थीहरुले मतदान गरेको विद्यालयका शिक्षक मोहन खड्काले बताउनुभयो ।

शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो । निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरुलाई निर्वाचन अधिकृत र मतदान अधिकृत, विद्यार्थीहरुलाई उम्मेदवारको एजेन्टको रुपमा जिम्मेबारी तोकिएको थियो भने अभिभावकलाई परिवेक्षकको रुपमा जिम्मेवारी तोकिएको थियो ।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रधानध्यापक थापाले बताउनुभयो ।

विद्यालयले शुक्रबार मतदानपछि मतगणना गरेर निर्वाचित विद्यार्थीहरुलाई बधाई तथा सपथ ग्रहण समेत गराएको थियो । निर्वाचित अधिकृत थापाले विद्यालयको क्याप्टेनमा निर्वाचित श्रेया छन्त्याललाई र क्याप्टेन छन्त्यालले उपप्रमुख सहित हाउसका प्रमुख र उपप्रमुखलाई सपथ ग्रहण गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *