आदर्श अनलाइन, म्याग्दी
नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो चुनावी प्रतिबद्धता अनुसारको बजेट ल्याउन निर्देशन दिएको छ ।
स्थानीय सरकारको नीति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण प्रशिक्षण दिनुका साथै आफ्नो प्रतिबद्धता अनुसारको बजेट ल्याउन निर्देशन दिएको हो ।
नेकपा एमालेले निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, गर्नुका साथै आगामी नीति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायतका विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्द नेपालीले सहजीकरण गर्नुभएको थियो । जनतालाई साथमा लिएर गरेको कामबाट पार्टीको प्रभाव विस्तारसँगै समृद्ध नेपालको परिकल्पना समेत पूरा हुने भएकोले त्यसैमा केन्द्रीत भएर काम गर्नु पर्नेमा सहजकर्ताहरुले जोड दिनुभएको थियो ।
स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिले अन्य निर्वाचितहरुले भन्दा प्रभावकारी र व्यवस्थित रुपमा काम गर्नुपर्ने एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भनाई थियो । उहाँले सबैले उस्तै गदर्छन् भन्ने होइन हामी र हाम्रो पार्टीबाट निर्वाचितहरुले फरक ढंगले काम गरी पार्टीलाई झनै बलियो बनाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले आफ्नो भूगोलमा रहेका पिछडिएको वर्ग, दलित र अल्पसंख्यकहरुलाई प्राथमिकतामा राखेर बजेट बनाउन जनप्रतिनिधिलाई अनुरोध गर्नुभएको थियो । उहाँले स्थानीय जनमतले पार्टीको सबैभन्दा ठूलो शक्ती एमाले भएकोले पनि एमाले संग ठूलो जिम्मेवारी रहेकोले त्यसलाई हेक्का राख्नु पर्ने धारणा राख्नु भएको थियो ।
प्रशिक्षणको क्रममा जनताको आवश्यकतामा केन्द्रित भएर बजेट विनियोजन सहित निर्वाचित भएपछिको कार्यसम्पादनको लिखित विवरण प्रस्तुतसँगै चालू आवमा पालिका र वडामा प्रक्षेपित बजेटको बिवरण, आगामी बर्षमा प्रस्तावित योजना बिवरण पेश, निर्वाचनको घोषणा तथा प्रतिबद्धतासंग बजेटको तादम्यताको स्थिति बिश्लेषण, असल अभ्यासको अनुभव आदानप्रदान लगायतका विषयमा केन्द्रित रहेको थियो ।
प्रशिक्षणमा बेनी नगर प्रमुख सुरत केसी, जिल्ला समन्वय समिति उपप्रमुख दिलकुमारी खत्री, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षत्री, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मी पुन, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारत कुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन लगायत एमालेबाट निर्वाचित २२ वटा वडा अध्यक्ष मध्ये २० जना सहित कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । उहाँले जनताको प्रत्यक्ष उपस्थितीमा कार्यसम्पादन हुने तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा भावी योजना, समस्या, कमी कमजोरीको समेत समिक्षा गरिएको बताउनुभयो ।