आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा बागलुङ इन्चार्ज आजाद सीले आफ्नो जग्गा बाँझो राखेर राजनीतिका गफ दिने राजनीतिक दलहरुको समय सकिएको बताउनु भएको छ ।
अबको समय उत्पादन सहितको क्रान्ति हो, पार्टीहरुले सिद्धान्तमा उत्पादन भन्ने व्यवहारमा उत्पादनलाई ध्यान नदिएका कारण मुलुकको आर्थिक अवस्था कमजोर हुदै गएको आजादको भनाइ छ । नेकपा जिल्ला कार्यसमिति बागलुङको पहिलो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेकपाले उत्पादन सहितको क्रान्तिको नीति पास गरेर सम्पूर्ण पार्टी पंक्तिलाई उत्पादनसंग जोड्ने अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उत्पादन सहितको पार्टी बनाउने योजना अनुसार बागलुङका २ वटा स्थानीय तहमा खेती गर्न शुरु गरेका छौ, आजादले भन्नुभयो, निसीखोला गाउँपालिका वडा नं. १ हुल्दीमा ४ सय सुन्तला कागतीका विरुवा र ढोरपाटन नगरपालिका वडा नं. ८ बोवाङमा ५० ओखरका लगाएका छौ ।
‘चन्दा मागेर जीवन गुजारा गर्दैनौँ, अन्य दलका नेताहरुले जस्तो आफ्ना खेतबारी बाँझै राखेर छोराछोरी विदेश पठाएर पनि राजनीति गर्दैनौँ’ आजादले ‘भन्नुभयो हाम्रो पार्टीका कोही नेता कार्यकर्ताले त्यस्तो गरेको पाइएमा तत्काल कारबाही गर्छाै ।’
उहाँले उत्पादन सहितको पार्टी विस्तारको अभियान सुरुवात भइसकेको भन्दै गाउँ गाउँका सरकारी र नीजि खाली जग्गा भाडामा लिएर भुगोल सुहाउँदो उत्पादन सुरुवात गर्ने बताउनु भयो ।
उहाँले तत्काल संविधान संसोधन गरेर दलाल पुूँजीवादको अन्त्य गर्दै नेपाली समाज सुहाउँदो समाजवाद लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकले समाजवादी मोर्चालाई पालिका स्तरमा विस्तार गर्ने, जनजीविकासँग जोडिएका महंगी, भ्रष्टाचार, कालो बजारी, मिटर बजारी, बैंकको चर्काे व्याज, वडा स्तरमा वर्तमान राजनीतिक संकटको विकल्प, नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
त्यसैगरी पार्टीको मोर्चा फराकिलो बनाउन जिल्ला कमिटि सदस्यलाई पालिका स्तरमा कार्यविभाजन गरेको आजादले बताउनु भयो । त्यसैगरी पार्टीले जेठ ७ गतेलाई वेपक्त स्मृति दिवसको रुपमा मनाएको छ ।
शशस्त्र द्वन्द्वका समयमा बलपूर्वक वेपत्ता पारिएका व्यक्तिका आफ्न्तलाई सत्यतथ्य जान्न पाउने अधिकारबाट बञ्चित गराउन नहुने भन्दै वेपक्ताको स्मरण गरिएको थियो ।