आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका निर्वाचित अध्यक्ष केवि राना मगरले पदबाट राजीनामा दिनुभएको छ ।
काम गर्ने वातावरण नभएको भन्दै मगरले राजीनामा दिएको आदर्श अनलाइनलाई बताउनुभयो । केवि राना मगर नेतृत्वको कार्यसमिति गत पुष २९ गते निर्वाचित भएको थियो । नवनिर्वाचित समिति चार वर्षको लागि निर्वाचित भएको हो ।
अध्यक्षको हैसियतमा उपभोक्ताको हितमा चुनावी ताका कबोल गरेका वाचालाई सम्बोधन गर्न नसकेको भन्दै राजिनामा दिएको उहाँको भनाई छ ।
मगरले उपाध्यक्ष हरिबहादुर जिसीलाई राजिनामा पत्र बुझाएको बताउनुभयो । “जनतालाई दिएको वाचा पुरा गर्न सक्ने वातावरण भएन, कोषध्यक्ष ज्यूको एक तिर सिंगो नेतृत्व एकातिर भएपछि जनताको काम गर्न नसक्ने भए” आदर्श अनलाइनलाई रानाले भन्नुभयो “जनताले खानेपानीको सहजताका लागि आफूलाई जिताएपनि आफू मात्रै एक्सनमा जान नसकेको र खानेपानीमा काम गर्ने बातावरण नभएको कारण राजिनामा दिएको छु ।”
पदाधिकारीले समेत काम गर्न नसघाएका कारण अध्यक्ष पदमा रहि काम गर्न नसक्ने भएकोले संस्थाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुँदै यस उपभोक्ता संस्थाबाट राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ । रानामगरले खासगरी कोषाध्यक्षबाट आफ्ना क्रिर्याकलापलाई असहयोग भएको जिकिर गर्नुभएको छ ।