विश्वको जुनसुकै विकासका लागि महिलाको भूमिका महत्वपूर्ण छ : नरदेवी पुन

आदर्श अनलाइन, म्याग्दी

विश्वका जुनसुकै आन्दोलन तथा विकासमा महिलाहरुकै भूमिका निकै महत्वपूर्ण रहेको अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटीकी सचिव नरदेवी पुनले बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनमा बोल्दै पुनले विश्वमा भएका हरेक युद्ध, क्रान्ति तथा आन्दोलन महिलाको सहभागिता बिना सफल नभएको स्मरण गराउनु भयो । नेपालमा भएका अहिले सम्मका आन्दोलनहरुको अगुवाइ गर्ने तथा तार्किक निश्कर्षमा पु¥याउन महिलाको साथ र समर्थन विना सम्भव नभएको उहाँको भनाई थियो ।

हाल सम्म भएका हरेक आन्दोलनमा महिलाहरुको पनि सक्रिय सहभागिता बिना सम्भव भएका थिएनन् । २००७ साल, २०४७ साल तथा २०६२÷०६३ को जनआन्दोलनमा महिलाहरुको सहभागिता उल्लेख्य भए पनि त्यसको नतिजा अनि परिणाम भने सबैको पक्षमा आएको भएतापनि महिलाहरुले पाउनु पर्ने अधिकार पाउन नसकेको उहाँको तर्क थियो । विश्वमा धेरै पटक महिला अधिकारका लागि आन्दोलन भएको भएतापनि आफ्नो अधिकार कार्यान्वयनमा नपुग्ने समूदाय नै महिला भएकोले अब सबैले आफ्नो अधिकार लिनका लागि आाफै प्रयास गर्नु पर्नेमा जोड दिनुभयो ।

महिलाहरुको सहभागिताको हिसाबले हेर्दा म्याग्दीमा केही हद सम्म बढी भए पनि ३३ प्रतिशत मात्रै नभएर ५० प्रतिशत सहभागिताका लागि आवाज बुलन्द गर्नु पर्ने उहाँको तर्क थियो । नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै संविधानसभा सदस्य बन्नुका साथै २०७४ को आम चुनावमा प्रदेशसभा सदस्य हुँदै प्रदेश सरकारको मन्त्री सम्म बन्ने मौका एमालेमा आफूले पाएको उहाँको भनाई थियो । अहिले पनि एमाले म्याग्दीको सचिव महिला नै हुनुहुन्छ त्यसैले एमाले मात्रै महिला सहभागिताका लागि उत्कृष्ट पार्टी रहेको पुनको तर्क थियो ।

नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठले महिलाा सहभागितालाई बढाउनका लागि पार्टी नीति नै उदार भएकोले महिलाहरुले पनि आफ्नो सहभागिता बढाउनका लागि प्रयास गर्नु पर्ने तर्क गर्नुभयो । म्याग्दीबाट थममायाँ थापा, नरदेवी पुन, थमसरा पुन लगायतका महिलाहरु नेतृत्व तहमा भूमिका खेलेको स्मरण गर्दै उहाँले भन्नुभयो–‘केन्द्रीय राजनीतिमा पनि पहुँच पुगेका म्याग्देली नारीहरुको सहभागितालाई अझै मजबुत बनाउनका लागि सबैले भूमिका खेल्नु पर्ने हुन्छ ।’

अखिल नेपाल महिला संघको नवौंं जिल्ला सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, एमाले म्याग्दीका सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, अनेम संघकी केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, अनेम संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले मन्तव्य राख्नुभएको थियो ।

अनेम संघ म्याग्दीकी अध्यक्ष यसुदा रोकाको अध्यक्षता, उपाध्यक्ष हेमकुमारी गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु गुरुङले गर्नुभएको थियो । अनेम संघको दुई दिन सम्म चल्ने जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने सचिव गुरुङले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *